काँकरभिट्टाः पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०८२\८३ मा १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कार्यालयको राजस्व सङ्कलनमा करिब ११ प्रतिशत वृद्धि भएको हो ।
मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८१\८२ मा १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व सङ्कलन भएको थियो । त्यसको तुलनामा गत आर्थिक वर्षमा १ अर्ब ७४ करोड ६० लाख ४५ हजार बढी राजस्व उठेको हो ।
राजस्व सङ्कलनमा ११ प्रतिशत वृद्धि भए पनि कार्यालयले तोकिएको वार्षिक लक्ष्य भने पूरा गर्न सकेन । आर्थिक वर्ष २०८२\८३ का लागि १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएकोमा कार्यालयले करिब ९३ प्रतिशत मात्र प्रगति हासिल गरेको जनाएको छ ।
यस नाकाबाट चिया, अलैँची, अदुवा, अम्रिसोको कुचो, छुर्पीलगायत कृषिजन्य वस्तु निर्यात हुने गरेका छन् । पेट्रोलियम पदार्थ, लत्ताकपडा, रासायनिक पदार्थ तथा विभिन्न औद्योगिक सामग्री आयात हुने गरेको छ ।
काँकरभिट्टा नाका पूर्वी नेपालको आयात–निर्यात व्यापारका लागि महत्वपूर्ण प्रवेशद्वार मानिन्छ ।





