लेटाङः लेटाङ नगरपालिका वडा नं २ को नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राईले विशेष कार्यक्रमका बीच भवनको उद्घाटन गरेका हुन् ।
सो अवसरमा लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, पूर्व नगरप्रमुख शंकर राई, विभिन्न वडाका वडाध्यक्षहरूलगायतको उपस्थिति रहेको थियो ।
जिल्ला समन्वय समिति मोरङको ४१ लाख ५७ हजार रुपैयाँ र लेटाङ नगरपालिलकाको ५२ लाख ४२ हजार रुपैयाँ गरी ९३ लाख ९९ हजारको लागतमा निर्मित २ तले भवनबाट उद्घाटनकै दिनदेखि सेवा दिन थालिएको छ ।
सो भवन २०७९ साल वैशाखमा ठेक्का सम्झौता भई २०८० असोजमा निर्माण सम्पन्न गरिएको नगरपालिकाका इञ्जिनियर भानुभक्त राईले जानकारी दिए ।
लेटाङ २ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय समाजसेवी, सामाजिक अगुवा लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो । सो २ तले भवनमा वडाध्यक्षको कार्यकक्ष, मेलमिलाप कक्ष, वडा सदस्यहरूको अलग्गै कक्ष, प्रशासनिक कक्ष र अतिथि कक्ष रहेको छ ।
यससँगै लेटाङ नगरपालिकाको वडा नम्बर १, २, ४, ७, ८ र ९ ले आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेका छन् । जसमध्ये लेटाङ १, ७ र ८ का साविक गाविस भवन हुन् भने वडा नम्बर २, ४ र ९ का नवनिर्मित भवन हुन् । वडा नम्बर ३, ५ र ६ भने भाडाको भवनमा सञ्चालित छन् ।
वडा कार्यालयसँगै रहेको स्वास्थ्य चौकीमा ल्याब सेवा समेत शुरु गरिएको छ । नगर प्रमुख भुपेन्द्रकुमार लावतीले ल्याव सेवाको उद्घाटन गरे । नगरपालिकामै पहिलो पटक वडा स्तरीय स्वास्थ्य संस्थामा ल्याब सेवा शुरु भएको हो ।