महेन्द्रनगरः अवैध तरिकाले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न जाँदा सम्पर्कविहीन बनेका १४ जना महिला परिवारको सम्पर्कमा आएका छन् ।
भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जगुराम थारू चौधरीका अनुसार आज मध्याह्न सवा १२ बजेतिर उनीहरू परिवारको सम्पर्कमा आएका हुन् । हिजोदेखि सम्पर्कविहीन भएका उनीहरुले जंगलमा च्याउ खोज्दै जाँदा बाटो बिर्सिएको बताएका छन् ।
उनीहरूको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारीको टोली समेत भीमदत्त नगरपालिका–१९ बागफाँटा पुगेको छ ।
निकुञ्जमा अवैध रूपमा च्याउ टिप्न समूह बनाएर गएका उनीहरू सम्पर्कविहीन भएपछि आफन्त, परिवार र छिमेकीका साथै सेना, प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासन खोजीकार्यमा लागेका थिए ।





