वसन्तपुरः अविरल वर्षाका कारण आएको पहिरोले कोशी राजमार्ग अन्तर्गत चैनपुर-वसन्तपुर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
प्रहरीका अनुसार धर्मदेवी नगरपालिका–४ स्थित बाक्सिङ चोकमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । वर्षाका कारण स्थानीय शारदा माध्यमिक विद्यालयको प्राङ्गणबाट ढुंगा र माटोसहितको ठूलो पहिरो खसेर सडक थुनिएको हो ।
सडक अवरुद्ध भएपछि चैनपुरबाट वसन्तपुर र वसन्तपुरबाट चैनपुरतर्फ आवतजावत गर्ने सवारी साधनहरू बीच बाटोमै ठप्प भएका छन् । यसले गर्दा लामो तथा छोटो दूरीका यात्रीहरू मर्कामा परेका छन् ।
पहिरोका कारण शारदा माध्यमिक विद्यालयको भवन र परिसर समेत जोखिममा परेको प्रहरीले जनाएको छ । विद्यालयको प्राङ्गणबाटै पहिरो खसेकाले थप वर्षा भएमा विद्यालय भवनमा क्षति पुग्न सक्ने खतरा बढेको छ । अहिले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।





