विराटचोकः पछिल्लो समय सामाजिक सञ्जालमा सुकुना माध्यमिक विद्यालयका कर्मचारी र शिक्षकले विद्यार्थीसँग गरेको यौनजन्य च्याटको स्क्रिनसट बाहिरिएपछि शिक्षक र कर्मचारी विवादमा तानिएका छन् ।
परीक्षाको प्रश्नपत्र चुहाउने र विद्यार्थीलाई प्रलोभन देखाएको गम्भीर आरोप सहितका म्यासेजहरू सार्वजनिक भएका छन् । त्यतिमात्रै होइन राति सँगै बसौँ भनी लेखिएका च्याट पनि सार्वजनिक भएका छन् ।
सामाजिक सञ्जाल फेसबुकको S/K/N Confession & Meme नामक पेजमा शिक्षक, कर्मचारीले विद्यार्थीसंग म्यासेज (च्याट) शंकास्पद कुराकानीका स्क्रिनसटहरू सार्वजनिक भएका थिए । यो पेज कसले चलाएको हो भन्ने आधिकारिक पुष्टि भने भएको छैन ।
सार्वजनिक भएका मेसेन्जर च्याटहरूका अनुसार, शिक्षकले आफ्नो पदीय मर्यादाको दुरुपयोग गर्दै परीक्षाको प्रश्नपत्र चुहाउने प्रयास गरेको र विद्यार्थीलाई व्यक्तिगत भेटघाटका लागि अनुचित दबाब दिएको देखिन्छ ।
यस विषयमा सुन्दरहरैँचा नगरपालिकाले सामाजिक सञ्जालमा सार्वजनिक भएका विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाले विज्ञप्ति जारी गर्दै सार्वजनिक भएका आरोपहरू गम्भीर र संवेदनशील भएको उल्लेख गर्दै आरोप लागेका सम्बन्धित व्यक्तिलाई तत्काल निलम्बन गरी प्रचलित कानुनबमोजिम छानबिन तथा कारबाही प्रक्रिया अघि बढाउन विद्यालयलाई निर्देशन दिएको छ ।





