विराटचोकः स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै १६ वर्षपछि पुनः विश्व फुटबलको शिखरमा उक्लिएको छ । आज बिहान भएको रोमाञ्चक फाइनलमा अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० गोलले पराजित गर्दै स्पेनले दोस्रो पटक विश्वकप ट्रफी उचाल्न सफल भएको हो ।
सन् २०१० मा नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा पराजित गर्दै पहिलो पटक विश्वकप जितेको स्पेनले यसपटक पनि अतिरिक्त समयमै इतिहास दोहोर्याएको हो । स्पेनको जीतमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका फेरान टोरेस नायक बने । उनले खेलको १०६ औँ मिनेटमा अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजलाई छलाउँदै गरेको एकमात्र गोल नै स्पेनलाई जिताउन सफल भयो ।
यो हारसँगै अर्जेन्टिनाका कप्तान लिओनल मेसीको लगातार दोस्रो विश्वकप जित्ने सपना अधुरै रह्यो । ३९ वर्षीय मेसीले फाइनलमा अपेक्षाअनुसार प्रभाव जमाउन सकेनन् । खेलको सुरुआती १५ औँ मिनेटमा उनले किक–अफबाहेक बललाई खासै छुन सकेनन् भने अर्जेन्टिनाले पहिलो हाफमा एउटा पनि प्रभावकारी प्रहार गर्न सकेन ।
स्पेनले सुरुदेखि नै बल नियन्त्रणमा राख्दै लगातार दबाब सिर्जना गरेको थियो । यद्यपि निर्धारित ९० मिनेटमा गोल ननिस्किएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
खेलको मध्यभागमा विश्व चर्चित कलाकार मडोना, बीटीएस, जस्टिन बिबर र साकिराको प्रस्तुति रहेको २७ मिनेट लामो हाफ–टाइम शो पनि आकर्षणको केन्द्र बनेको थियो ।
अतिरिक्त समयअघि अर्जेन्टिनाले ठूलो झट्का बेहोर्न पुग्यो । मिडफिल्डर एन्जो फर्नान्डेजले स्पेनका युवा डिफेन्डर पाउ कुबार्सीमाथि गरेको फाउलका कारण दोस्रो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिए । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिना त्यसपछि १० खेलाडीमा सीमित भएको थियो ।
एक खेलाडीको सङ्ख्यात्मक लाभ उठाउँदै स्पेनले अतिरिक्त समयमा खेलमाथि पूर्ण नियन्त्रण जमायो । स्पेनको एक गोल अफसाइड\फाउलका कारण रद्द भए पनि फेरान टोरेसको निर्णायक गोलले टोलीलाई उपाधि दिलाउन पर्याप्त बन्यो ।
पूरै प्रतियोगिताभरि केवल एक गोल मात्र खाएको स्पेनले उत्कृष्ट रक्षापंक्ति, सन्तुलित टोली र आक्रामक खेलशैलीका कारण विश्वकप जित्न सफल भयो । टोली कुनै एक खेलाडीमा मात्र निर्भर नभई सामूहिक प्रदर्शनका आधारमा सफल बनेको देखियो । क्वाटरफाइनलमा बेल्जियम र सेमिफाइनलमा फ्रान्सलाई पराजित गर्दा जस्तै फाइनलमा पनि स्पेनले प्रभावशाली प्रदर्शन दोहो¥यायो ।
यता अर्जेन्टिनाको अधिकांश रणनीति मेसीमा केन्द्रित देखिए पनि स्पेनको सङ्गठित रक्षापंक्तिले उनलाई प्रभावहीन बनायो । अतिरिक्त समयमा मेसीले गरेको एउटा राम्रो प्रहारसमेत स्पेनिस डिफेन्डरले रोकिदिएका थिए ।
१० वर्षअघि यही मेटलाइफ स्टेडियममा कोपा अमेरिकाको फाइनल गुमाएपछि सन्यास घोषणा गरेका मेसीले त्यसपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएर अर्जेन्टिनालाई एक विश्वकप र दुई कोपा अमेरिका उपाधि दिलाएका थिए । तर यसपटक उनले चाहेको आफ्ने खेल जीवनको सुखद अन्त्यको अपेक्षा पूरा हुन सकेन ।
फाइनलमा एन्जो फर्नान्डेजको रातो कार्ड अर्जेन्टिनाका लागि महँगो सावित भयो । रेफ्रीसँगको विवादपछि पहेँलो कार्ड पाएका उनले अन्तिमतिर अनावश्यक फाउल गर्दै दोस्रो पहेँलो कार्ड पाएपछि टोली रक्षात्मक बन्न बाध्य भएको थियो ।
यससँगै स्पेनले आफ्नै परिचित आक्रामक र अनुशासित खेलशैलीको प्रदर्शन गर्दै विश्व फुटबलको नयाँ च्याम्पियनका रूपमा इतिहासमा अर्को स्वर्णिम अध्याय थपेको छ । फेरान टोरेसको अतिरिक्त समयको गोलले स्पेनलाई दोस्रो विश्वकप उपाधि दिलाउँदा अर्जेन्टिना भने उपविजेतामै सीमित भएको छ ।





