गोठगाउँः मोरङको सुन्दरहरैँचा–७ गोठगाउँमा रहेको श्री पञ्चायत माध्यमिक विद्यालयको ५९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख केदारप्रसाद गुरागाई थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख गुरागाईँले सामुदायिक विद्यालयले भवन र सवारी साधनमा भन्दा गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए । विद्यालय शिक्षा निःशुल्क भएकाले छात्रवृत्तिको लागि अक्षयकोषभन्दा पनि शैक्षिक सामग्री प्रदान गर्न दातालाई अनुरोध गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खगेन्द्र रायमाझीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पोष्टकुमार श्रेष्ठले विद्यालयमा प्राविधिक विषय अध्यापनका लागि छलफल गर्न आवश्यक रहेको औँल्याए ।
कार्यक्रममा विद्यालयलाई योगदान गर्ने विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष टोमबहादुर श्रेष्ठ, रमेश भण्डारी तथा पूर्व प्रधानाध्यापक गुरूप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयलाई आर्थिक सहयोग गर्ने अन्य व्यक्तिलाई पनि सम्मान गरिएको थियो ।
हालै सम्पन्न नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डका पदक विजेता विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । सो रनिङ शिल्डको छात्रा कबड्डी, छात्र कबड्डी, तेक्वान्दो, करातेलगायतका खेलमा विद्यालयले स्वर्ण, रजत तथा कास्य जितेको थियो । कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य र नाटक प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सुन्दरहरैंचाका पूर्व नगर प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख अकली चौधरी, नेपाल सरकारका पूर्व सहसचिव प्रेमप्रकाश उप्रेतीलगायतले आफ्नो धारणा राखेका थिए ।