राजविराजः सप्तरीको रुपनी गाउँपालिकाको कार्यालयले मिलेमतोमा सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानिटरी प्याड खरिद गरेको भन्ने उजुरी परेको छ ।
आर्थिक वर्ष २०७७\०७८ मा नेपाल सरकारको सशर्त अनुदानतर्फ सामुदायिक विद्यालयका छात्राहरुका लागि निःशुल्क प्याड वितरणका लागि बजेट विनियोजन भएको थियो । गाउँपालिकाले स्यानिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ नियम ११ बमोजिम मालसामानको लागत अनुमान तयार गर्ने तथा लागत अनुमान तयार गर्दा स्थानीय बजार प्रचलित दरभाउ समेतलाई आधारको रुपमा लिई गर्नुपर्ने हुन्थ्यो । तर, प्रचलित कानुनी व्यवस्थाको पालना नगरी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र श्री लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजकी सञ्चालक ललिताकुमारी साहविरुद्ध भ्रष्टाचार कसुरमा उजुरी परेको हो ।
आरोपितहरुले लागत अनुमान नै तयार नगरी नगराई ९ लाख ११ हजार ९२५ रुपैयाँ पर्ने जस्मिन हाईजिन प्रोड्रक्ट प्रा.लि., मोरङद्वारा उत्पादित प्याडलाई १७ लाख ८५ हजार ९२८ रुपैयाँमा खरीद गरेको बिल बनाएका थिए ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) खण्ड (ञ) बमोजिमको कसुरमा बिगो ८ लाख ७४ हजार ३ रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर गर्न मागदाबी गरिएको छ ।