विराटचोकः आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.५४ प्रतिशत अर्थात १४ अंकले बढेर २ हजार ५९०.२९ बिन्दुमा अडिएको छ । बजार बढे पनि कारोबार रकम भने ५० प्रतिशत घटेको छ ।
नेप्सेमा सूचीकृत ३६२ स्टकको ८४ लाख ७३ हजार १६ कित्ता शेयर ३८ हजार ८३६ पटक किनबेच हुँदा ४ अर्ब १७ करोड ३ लाख ९८ हजार ४९ रुपैयाँको शेयर किनबेच भएको छ । हिजो ८ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो ।
कारोबारमा आएका १३ वटा समूहमध्ये बाँकी सबै समूहमा हरियाली छाएको छ । सामुहिक लगानी कोषको सूचक स्थिर रह्यो भने लगानी समूह ०.४६ प्रतिशतले घट्यो । विकास बैंक समूह सर्वाधिक १.३७ प्रतिशतले बढ्यो ।
उच्च कारोबार गर्ने १० मध्ये ५ कम्पनी ऋणपत्र
आज पनि उच्च कारोबार गर्ने स्टकमा ऋणपत्र रहेका छन् । उच्च कारोबार गर्ने १० मध्ये ५ स्टक विभिन्न वित्तीय संस्थाका ऋणपत्र रहेका छन् ।
आज हिमालयन बैंक डिबेञ्चर २०८३ को सर्वाधिक ४४ करोड १० लाख ४२ हजार १९० रुपैयाँको शेयर किनबेच भएको छ ।
आरबीबीएल डिबेञ्चर २०८८ को ३३ करोड २० लाख ४३ हजार ८८३ र एनआईसी एशिया डिबेञ्चर २०८३\८४ को २१ करोड ८९ लाख ६१ हजार ७०० रुपैयाँको शेयर किनबेच भएको छ ।
कर्पाेरेट डेभलपमेण्ट बैंकको सर्वाधिक १२.९० प्रतिशतले शेयरमूल्य बढेको छ । एनएमबी डिबेञ्चर २०८९\२०९० को मूल्य ९.२० प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको शेयमूल्य ८.४० प्रतिशत बढेको छ ।
उपकार लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात् ७.३२ प्रतिशतले घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ५० अर्ब ६५ करोड ४६ लाख ४५ हजार ४५८ रुपैयाँ निर्धारण भएको छ ।





