विराटचोकः अवसरको खोजीमा पहाडबाट तराई क्षेत्र झर्ने क्रमसँगै उदीयमान शहरको रूपमा रहेको मोरङको ऐतिहासिक महत्त्व बोकेको सुन्दरहरैंचा नगरपालिकाको विकास, वर्तमान अवस्था तथा आर्थिक समृद्धिका भावी सम्भावनाबारे विराटचोकमा बहस भएको छ । सो बहसमा सहभागी अधिकांश वक्ताले बसाइँसराइँमार्फत् बढिरहेको जनसङ्ख्या वृद्धिलाई नगरको विकासमा लगाउन आवश्यक रहेको बताउनुभएको छ ।
सुन्दरहरैंचा उद्योग वाणिज्य संघले आज ‘कृषि, पर्यटन, उद्योग र व्यापारः आर्थिक समृद्धिको मूल आधार’ नारासहित आयोजना गरेको कार्यक्रममा नगरको समग्र विकासका लागि सरोकारवालाबीच खुला छलफल गरिएको थियो ।
कार्यक्रममा आफ्नो धारणा राख्दै सञ्चारकर्मी टीकाराम यात्रीले भक्तपुर जिल्लाभन्दा केही सानो क्षेत्रफलमा रहेको सुन्दरहरैंचाले बसाइँसराइँमार्फत् आउने जनशक्तिलाई बाहिर जान दिन नहुने बताउनुभयो । नगरमा रहेको जनशक्तिलाई नगरकै विकासमा लगाउन सके विकासले फड्को मार्ने उहाँको धारणा थियो ।
जलविद्युत क्षेत्रका विशेषज्ञ अरूण सुवेदी, कलाकर्मी रेखा थापा, वरिष्ठ पत्रकार दिलभूषण पाठकलगायतले सम्बोधन गर्ने क्रममा भइरहेको विकासलाई संस्थागत गर्दै थप विकासका लागि जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले नगरले गरेको विकास निर्माणको बारेमा जानकारी दिनुभएको थियो ।
सुन्दरहरैंचा नगरपालिकाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकालले हालसम्म नगरमा भएको विकासको बारेमा जानकारी दिनुभएको थियो ।
उद्योग वाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा युवा उद्योगी सुयस प्याकुरेलले पनि आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा पूर्व अर्थमन्त्री रामेश्वर खनाल पनि आउने कार्यतालिका भए पनि उहाँ अनुपस्थित हुनुहुन्थ्यो ।
जेसीज भवनमा तीन घण्टा चलेको कार्यक्रममा नगरवासीको उल्लेख्य सहभागिता रहेको थियो ।
इन्द्रपुर जेसीजका महासचिव आकाश दुलालले सञ्चालन गर्नुभएको कार्यक्रमको औचित्यको बारेमा सुन्दरहरैंचा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष भोलेश्वर दुलालले प्रष्ट पार्नुभएको थियो ।
सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।




