विराटचोकः आज बिहान अमेरिकाको बोस्टन स्टेडियममा भएको राउण्ड अफ ३२ को खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई पेनाल्टी सुट आउटमा ४–३ गोलले पराजित गरी अन्तिम १६ मा आफ्नो नाम दर्ता गरेको छ ।
निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटमार्फत् गरिएको थियो ।
जर्मनी विश्वकपमा पेनाल्टी सुटआउटमा पराजित भएको यो पहिलो पटक हो । सन् २००२ मा जापान र कोरियामा भएको विश्वकपको अन्तिम १६ मा जर्मनीसँगै पराजित भएको पाराग्वेले २४ वर्षपछि त्यो हारको बदला लिएको छ ।
पाराग्वेले अब फ्रान्स र स्वीडेनबीचको खेलको विजेतासँग अन्तिम १६ मा खेल्नेछ ।
जर्मनी जारी विश्वकपबाट बाहिरिने दोस्रो पूर्व विजेता टोली बनेको छ । यसअघि उरुग्वे समूह चरणबाट बाहिरिइसकेको छ ।
सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको उपाधि जितेयता जर्मनीले विश्वकपको नकआउट चरणमा खेल जित्न सकेको छैन । पछिल्लो दुई विश्वकपमा समूह चरणबाटै बाहिरिएको जर्मनी १२ वर्षपछि नकआउट चरण पुगेको थियो ।




