खेमचन्द्र अधिकारी
विराटचोकः अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा पनि कीर्तिमानमाथि कीर्तिमान थपिरहेका छन् । विश्व फुटबलका महान् खेलाडीमध्ये एक मानिने मेसीले विश्वकप इतिहासका थुप्रै महत्वपूर्ण रेकर्ड आफ्नो नाममा लेखाएका छन् ।
अस्ट्रियाविरुद्ध दुई गोल गरेपछि मेसी विश्वकप इतिहासकै सर्वाधिक १८ गोल गर्ने खेलाडी बनेका छन् । यससँगै उनले विभिन्न दुर्लभ कीर्तिमान समेत कायम गरेका छन् ।
मेसीका प्रमुख विश्वकप कीर्तिमानहरूः
विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता – १८ गोल
लगातार ६ खेलमा गोल गर्ने तेस्रो खेलाडी
५ फरक विश्वकपमा गोल गर्ने खेलाडीमध्ये एक
विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडी (३८ वर्ष)
समूह चरणदेखि फाइनलसम्म सबै चरणमा गोल गर्ने पहिलो खेलाडी
लगातार ६ विश्वकप खेल्ने पहिलो खेलाडी
विश्वकपमा सर्वाधिक २८ खेल खेल्ने खेलाडी
विश्वकपमा सर्वाधिक १८ खेल जित्ने खेलाडी
लगातार ५ विश्वकपमा असिस्ट गर्ने खेलाडी
विश्वकपमा संयुक्त रूपमा सर्वाधिक ८ असिस्ट
सर्वाधिक १२ पटक प्लेयर अफ दि म्याच अवार्ड विजेता
एक विश्वकप उपाधि र दुई गोल्डेन बल जित्ने एकमात्र खेलाडी
सन् २००६ मा विश्वकप डेब्यु गरेका मेसीले दुई दशक लामो यात्रामा विश्व फुटबलका अधिकांश प्रतिष्ठित कीर्तिमान आफ्नो नाममा दर्ता गरिसकेका छन् । अहिले जारी विश्वकपमा पनि उनी गोल्डेन बुटको बलियो दाबेदारका रूपमा देखिएका छन् ।
विश्वकपमा जति खेल्दै जान्छन्, उति नै नयाँ इतिहास रच्दै जाने मेसीको यात्राले उनलाई फुटबलकै सबैभन्दा महान् खेलाडीमध्ये एकको रूपमा थप स्थापित गरिरहेको छ ।




