Thursday, June 18, 2026
Homeफिचरसाढे ३ लाख तलब दिने गरी इजरायलले माग्यो २३ सय नेपाली, असार...

साढे ३ लाख तलब दिने गरी इजरायलले माग्यो २३ सय नेपाली, असार ७ सम्ममा आवेदन दिनुपर्ने

विराटचोकः वैदेशिक रोजगार विभागका अनुसार नेपालीहरूका लागि इजरायलमा रोजगारी खुला भएको छ । नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्रमार्फत् नै इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न २३ सय जना नेपाली श्रमिकको माग भएको छ ।

विभागका अनुसार इजरायलको दीर्घकालीन स्याहार केन्द्र (वेताबोध) का लागि केयर गिभर अर्थात् सहायक श्रमिक माग भएको छ । योग्यता पुगेकाहरूले ७ असारसम्म आवेदन दिन पाउनेछन्, जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छनोट हुनेछन् ।

छनोट भएकामध्ये पहिलो चरणमा १ हजार जनालाई तत्काल रोजगार प्रक्रियामा समावेश गराइने र बाँकी १ हजार ३ सय जनालाई भने पहिलो चरणको प्रक्रिया पूरा भएपछि इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआईबीए) को आवश्यकताअनुसार रोजगार प्रक्रियामा समावेश गरिने विभागले उल्लेख गरेको छ ।

योग्यता पुगेकाहरूमध्ये अन्तिम छनोट भने लक्की ड्रबाट हुने जनाइएको छ । लक्की ड्रमार्फत् छनोट नभएकाहरूलाई इजरायलले रोजगार प्रक्रियामा समावेश गराइने छैन । विभागका अनुसार नेपाल र इजरायलबीच भएको श्रम सम्झौतामा नै लक्की ड्रमार्फत् छनोट नभएकालाई रोजगार प्रक्रियामा समावेश गराउन इजरायल बाध्य नहुने व्यवस्था छ ।

यसपटक केयरगिभरको रूपमा इजरायल जानका लागि हिब्र्रू भाषा अनिवार्य गरिएको छैन । तर, अङ्ग्रेजी भाषा भने जानेको र इजरायल सरकारले तोकेको मापदण्ड अंग्रेजी भाषा परीक्षणमा भने पास हुनुपर्छ । केयर गिभरको काममा जानेले गम्भीर शारीरिक तथा मानसिक अपांगता भएका जुनसुकै उमेरका व्यक्तिहरूको स्याहार गर्नुपर्ने हुन्छ ।

केयर गिभरको काममा छनोट भएर इजरायल रोजगारीमा जान सफल हुनेले मासिक तलब ६४४३.८५ इजरायली मुद्रा अर्थात् झण्डै साढे ३ लाख रुपैयाँ पाउनेछन् । इजरायली सरकारको नियमानुसार ओभर टाइम पनि पाइन्छ । काम भने हप्तामा ६ दिन मात्रै गर्नुपर्छ । अतिरिक्त समयबाहेक हप्तामा ४२ घण्टा मात्रै काम गर्नुपर्छ ।

इजरायली कानुनअनुसार वार्षिक बिदा पनि पाइन्छ । तर, खाने र बस्ने खर्च भने व्यक्ति स्वयम्ले नै व्यहोर्नुपर्नेछ । आवासको प्रबन्ध रोजगारदाताले गर्नेछन् तर खर्च भने आफैँले तिर्नुपर्छ ।

शुरुमा करार अवधि एक वर्षको हुनेछ । तर, करार अवधि थप गर्न सकिने सुविधा भने छ । यदि करार अवधि थप भयो भने यसरी जाने कामदारले पाँच वर्षसम्म इजरायलमा काम गर्न पाउनेछन् ।

केयर गिभरको काममा जानका लागि उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्छ । उचाइ कम्तीमा पनि १.५ मिटर अर्थात् ४.९ फिट र तौल ४५ किलोभन्दा कम हुनु हुँदैन । शैक्षिक योग्यता कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको भए पनि हुन्छ ।

प्लस टु वा सोसरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिमप्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिएको भए पनि हुन्छ । पहिले नै इजरायल गई काम गरेको र बाबु, आमा, पति, पत्नी र छोराछोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्छ । यदि त्यस्तो भएमा आवेदन दिन पाइँदैन ।

शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको, कुनै पनि प्रकारका जीर्ण रोगहरू जस्तै; क्षयरोग, हेपाटाइटिस, भिरिङ्गी, गोनोरिया र एड्स लागेको हुनु हुँदैन । त्यस्तै कुनै पनि दुव्र्यसनमा लागेको हुनु हुँदैन ।

गह्रौँ सामान उचाल्न सक्नेलगायत स्याहार केन्द्रमा सहायक कामदारको रूपमा काम गर्न सामथ्र्य भएको हुनुपर्छ । आवेदन दिँदा पासपोर्टको म्याद कम्तीमा पनि ३ वर्ष बाँकी रहेको हुनुपर्छ ।

अंग्रेजी भाषा परीक्षणको प्रमाणपत्रको रूपमा इजरायलको बीआईबीएले तोकेको CIIn\ international qualifications pvt ltd त्रिपुरेश्वर काठमाडौंबाट लिइएको क्याम्ब्रिज अपस्किल इङ्लिस टेस्ट क्याम्ब्रिज युनिर्भसिटी प्रेस एन्ड असिस्टेन्टको कम्तीमा रिडिङ ए २, राइटिङ ए १, लिस्टनिङ ए २ र स्पिकिङ बी १ भएको प्रमाणपत्र आवश्यक पर्छ । यो प्रमाणपत्र आवेदन दिँदा नै पेस गर्नुपर्छ । नत्र दरखास्त स्वीकृत हुँदैन ।

इजरायल जानका लागि छनोट भएका व्यक्तिहरूले केही पूर्वशर्त पनि पूरा गर्नुपर्ने विभागले जनाएको छ । आवश्यक परेमा इजरायल जानु ७२ घण्टाअगाडि आफ्नै खर्चमा कोभिडको परीक्षण गराएर संक्रमण नभएको पुष्टि गर्नुपर्ने हुन्छ । यसका साथै इजरायल प्रवेश गरेपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले तोकेअनुसार आवश्यक खोप लिनुपर्ने र खोप लिन अस्वीकार गर्न नपाइने पनि पूर्वशर्त छ ।

त्यस्तै, वैदेशिक रोजगार विभागले तोकेबमोजिमको समयमा इजरायल सरकारले तोकेको ढाँचामा द्विपक्षीय श्रम सम्झौताअनुसार सूचीकृत स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराएको प्रमाणपत्र पेश गर्नुपर्छ । यहाँबाट केयर गिभरको काममा भनेर गएपछि सम्झौतामा उल्लेख भएका बाहेकका अन्य क्षेत्रमा काम गर्न पाइने छैन ।

यी योग्यता पूरा भएकाले वैदेशिक रोजगार विभागको वेबसाइट जततउकसभचmक।मया।नयख।लउ मा गई अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् । अनलाइन फारम के कसरी भर्ने भन्ने सम्पूर्ण जानकारी विभागको वेबसाइटमै उपलब्ध छ ।

आवेदन स्वीकृत भएपछि तपाईंले राख्नुभएको मोबाइल नम्बर वा इमेलमा नै आवेदन स्वीकृत वा अस्वीकृत भएको अथवा थप कागजात आवश्यक भएमा सोसम्बन्धी थप जानकारी आउनेछ । त्यसैले आवेदन दिँदा मोबाइल नम्बर र इमेल भने आधिकारिक प्रयोग गर्नुपर्छ ।

आवेदन दिँदा पासपोर्ट र वैध प्रहरी चारित्रिक प्रमाणपत्र स्क्यान गरी कपीसमेत अपलोड गर्नुपर्छ । उम्मेदवारले स्वयम् घोषणा गरेको उचाइ र तौल तोकिएको भन्दा कम भएमा पनि रोस्टरबाट नाम हट्ने विभागले जनाएको छ ।

आवेदन दिएकाहरूको पहिलो चरणमा विभागको एफईआरएमएस प्रणालीबाट स्वीकृत भएका उम्मेदवारहरूको सूची तयार हुन्छ । छनोट समितले योग्य उम्मेदवारहरूको सूचीको अन्तिम रोस्टर तयार पारी इजरायलको बीआईबीएलाई जाँचबुझका लागि पठाउँछ ।

बीआईबीएको जाँचबुझमा सफल भएका उम्मेद्वारहरूको सूची आएपछि विभागले आफ्नो वेबसाइटमा प्रकाशित गर्ने गर्छ । त्यसपछि बीआईबीएले नै उसको आफ्नो नियमअनुसार अन्तिम रोस्टरमा भएका उम्मेदवारहरूबाट लक्की ड्र प्रक्रियामार्फत् आवश्यक कामदार छनोट गर्ने विभागले जनाएको छ ।

छनोट भएकाहरूमध्ये पहिलो चरणमा एक हजार जनालाई जतिसक्दो छिटो पठाउने र बाँकीलाई पनि पहिलो चरणको प्रक्रिया पूरा भएपश्चात् पीआईबीएको आवश्यकताअनुसार रोजगार प्रक्रियामा समावेश गराइन्छ ।

रिजर्भ पोलमा राखिएका उम्मेद्वारहरूलाई बीआईबीएको आवश्यकताअनुसार रोजगार प्रक्रियामा समावेश गराउने गरिन्छ ।

दुई देशबीच भएको सम्झौताअनुसार सरकारी प्रक्रियामार्फत् नै श्रमिक पठाउने भएकाले हवाई भाडा, स्वास्थ्य परीक्षण, अंग्रेजी भाषा परीक्षण, बीमा र सामाजिक सुरक्षा कोषबापतको रकम श्रमिकले नै तिर्नुपर्छ ।

हवाई भाडा श्रमिक उड्ने समयको प्रचलित बजारदर अनुसार लाग्छ । स्वास्थ्य बीमा उमेरअनुसार ३ हजार ७०८ देखि ४ हजार ९३१ रुपैयाँसम्म पर्छ । महिलालाई निःशुल्क भए पनि पुरुषले पूर्वप्रस्थान अभिमुखीकरण तालिमको ७ सय रुपैयाँ तिर्नुपर्छ ।

स्वास्थ्य परीक्षणको शुल्क करिब ९ हजार ५ सय रुपैयाँ पर्छ । तर, समयअनुसार तलमाथि हुन पनि सक्ने विभागले जनाएको छ ।

वैदेशिक रोजगार कल्याणकारी कोषमा १ हजार ५ सय रुपैयाँ जम्मा गर्नुपर्छ भने सामाजिक सुरक्षा कोषमा २ हजार ३०८ रुपैयाँ जम्मा गर्नुपर्छ । यसबाहेक यदि उडान हुनुभन्दा अघि कोरोना परीक्षण गर्नुपर्याे भने त्यसको पनि शुल्क व्यक्ति स्वयम्ले नै तिर्नुपर्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments