विराटचोकः आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.४५ प्रतिशत अर्थात १२.२६ अंकले घटेर २७११.७६ बिन्दुमा अडिए पनि कारोबार रकम भने बढेको छ ।
३५० कम्पनीको १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता शेयर ५१ हजार ७०२ पटक किनबेच हुँदा ४ अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ रुपैयाँको शेयर किनबेच भएको छ । शुक्रबार ३ अर्ब ३४ करोड १० लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।
उत्पादन तथा प्रशोधन समूह ०.११ प्रतिशतले उकालो लागेबाहेक बाँकी सबै समूहको सूचकमा आज रातो पोतिएको छ । अन्य समूह आज सर्वाधिक १.८२ प्रतिशतले घटेको छ ।
घटेको बजारमा आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ३८ करोड ८५ लाख ६ हजार ४७३ रुपैयाँको शेयर किनबेच भएको छ । लक्ष्मी सनराइज बैंक, एसवाई प्यानल नेपाल, रिलायन्स स्पिनीङ मिल्स उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।
आज सोपान फर्मास्युटिकल्स र एपोलो हाईड्रोपावरको शेयरमूल्य १५ प्रतिशतले बढेको छ । यी दुवै कम्पनीको आईपीओ हालै नेप्सेमा सूचीकृत भई दोस्रो बजारमा कारोबार शुरु भएको हो ।
आज ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक अर्थात् ७.९४ प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ३३ अर्ब ५८ करोड ८२ लाख ८३ हजार ६०० रुपैयाँ कायम भएको छ ।




