विराटचोकः फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सह–आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोल अन्तरले पराजित गरेको छ ।
खेलको ९ औँ मिनेटमै मेक्सिकोका जुलियन क्विनोनेसले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यो सन् २००६ यताकै विश्वकपकै सबैभन्दा चाँडो भएको पहिलो गोल हो । खेलको ६७ औँ मिनेटमा राउल जिमेनेजले दोस्रो गोल गरेका थिए । चौथो पटक विश्वकप खेलिरहेका जिमेनेजको यो विश्वकप इतिहासमै पहिलो व्यक्तिगत गोल थियो ।
उद्घाटन खेलमा विश्वकप इतिहासमै पहिलो पटक ३ वटा रातो कार्ड देखाइएको कीर्तिमान कायम भएको छ । दक्षिण अफ्रिकाका याया सिथोले खेलको ४९ औँ मिनेटमा र थेम्बा ज्वानेले ८४ औँ मिनेटमा रातो कार्ड पाएपछि दक्षिण अफ्रिका ९ खेलाडीमा समेटिएको थियो । खेलको मध्यान्तरपछिको अतिरिक्त समयमा मेक्सिकोका सेसार मोन्टेसले पनि रातो कार्ड पाएका थिए ।
घरेलु मैदान मेक्सिको सिटीको एस्टेका रङ्गशालामा ८० हजारभन्दा बढी दर्शकमाझ भएको उक्त खेल निकै तनावपूर्ण र उतारचढावले भरिएको थियो ।




