लेटाङः मदन भण्डारी राजमार्ग अन्तर्गत लेटाङ–३ स्थित बिरणटोल पश्चिमदेखि चिसाङ पुल पूर्वसम्मको सडकखण्डका खाल्डाखुल्डी पुर्न लेटाङ नगरपालिकाले शुरु गरेको छ ।
वर्षाका कारण सडक हिलाम्मे भई खाल्डाखुल्डीमा पानी जम्दा स्थानीय तथा सवारी प्रयोगकर्तालाई असुविधा भएको गुनासोपछि नगरप्रमुख भुपेन्द्रकुमार लावतीले स्थलगत अनुगमन गर्नुभएको थियो । सो अनुगमनपछि आवागमनलाई सुरक्षित, सहज र नियमित बनाउन विपद् व्यवस्थापनतर्फको स्रोत परिचालन गरी सडकका जोखिमयुक्त स्थानहरूमा गिटी झार्ने, खाल्डाखुल्डी पुर्ने तथा तत्काल सवारी सञ्चालन सहज बनाउने कार्य अघि बढाइएको छ ।
नगरप्रमुख लावतीले मदन भण्डारी राजमार्गको लेटाङ खण्डको निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित निर्माण कम्पनी, आयोजना र सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय, पहल र दबाबमूलक भूमिका निर्वाह गरिरहनुभएको बताइएको छ ।




