विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बाल सञ्जालको आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा लागूऔषध दुव्र्यसनी सचेतना कार्यक्रम, श्रुतिलेखन प्रतियोगिता तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
हातेमालो बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम वडा बाल सञ्जालका अध्यक्ष अर्जुन दाहालको अध्यक्षता तथा वडा नं. १० का अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर राजीव गिरीले लागूऔषध दुव्र्यसनसम्बन्धी सचेतनामूलक प्रशिक्षण दिनुभएको थियो । उहाँले पछिल्लो समय युवापुस्तामा लागूऔषधको प्रयोग बढ्दो चुनौतीका रूपमा देखा परेको उल्लेख गर्दै यसको असर व्यक्ति, परिवार र समाजमा गम्भीर हुने बताउनुभयो ।
श्रुतिलेखन प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । सो प्रतियोगितामा सिद्धार्थ सेकेण्डरी स्कुल प्रथम, बालप्रतिभा सेकेण्डरी स्कुल दोस्रो तथा हिमालय इङ्लिस स्कुलका विद्यार्थी तेस्रो भएका थिए । विजेता विद्यालय तथा विद्यार्थीहरूलाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रमुख अतिथि वडा अध्यक्ष राजकुमार राईले विद्यार्थीहरूमा शैक्षिक गुणस्तर अभिवृद्धिसँगै सामाजिक चेतना विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष अर्जुन दाहालले बालबालिकाको सर्वाङ्गीण विकासका लागि बाल सञ्जालले विभिन्न रचनात्मक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको थियो ।




