काठमाडौंः बैशाखमा देशभर घरजग्गा कारोबार बढेको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । विभागका अनुसार बैशाख महिनामा देशभरका भूमि प्रशासन कार्यालयमार्फत् ५८ हजार ८८६ वटा घरजग्गा किनबेच भएका छन् । यो संख्या चैतको तुलनामा ६.०४ प्रतिशतले बढी हो ।
चैत महिनामा ५५ हजार ५३१ वटा कारोबार भएका थिए । गत वर्षको यही अवधिसँग तुलना गर्दा पनि घरजग्गा कारोबार १२.३४ प्रतिशतले बढेको देखिएको छ । गत वर्ष बैशाखमा ५२ हजार ४१५ वटा कारोबार भएका थिए ।
कारोबार बढेपछि राजस्व पनि बढेको छ । चैत महिनामा घरजग्गा कारोबारबाट ६ अर्ब १६ करोड ५७ लाख रुपैयाँ राजस्व संकलन भएकोमा बैशाखमा ६ अर्ब २६ करोड ३८ लाख रुपैयाँ संकलन भएको थियो ।
बैशाख महिनामा सेवा करबाट मात्रै ३४ करोड ४० लाख ६३ हजार रुपैयाँ राजस्व उठेको छ । रजिस्ट्रेसन दस्तुरबाट ३३ करोड १९ लाख रुपैयाँ तथा पूँजीगत लाभकरबाट ३३ करोड ३८ लाख रुपैयाँ सङ्कलन भएको विभागले जनाएको छ ।




