विराटचोकः आज सगरमाथा आरोहणमा दुई कीर्तिमान बनेका छन् ।
सगरमाथा आरोही कामीरिता शेर्पा र लाक्पा शेर्पाले आफ्नै नाममा रहेको कीर्तिमानी तोड्दै नयाँ कीर्तिमानी बनाउनुभएको हो । कामीरिताले विश्वमा सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने आरोहीको र लाक्पाले धेरै पटक सगरमाथा आरोहण गर्ने महिलाको नाममा कीर्तिमानी बनाउनुभएको हो ।
पर्यटन विभागको सगरमाथा आधार शिविरस्थित अस्थायी कार्यालयका अनुसार आज बिहान १० बजेर १२ मिनेट जाँदा कामीरिता शेर्पा ३२ औं पटक सगरमाथाको चुचुरोमा पुग्नुभएको छ । उहाँले सगरमाथा आरोहणमा धेरै पटक सगरमाथा चढ्ने व्यक्तिको आफ्नै रेकर्ड तोड्नुभएको हो । यसअघि २०८२ साल जेठमा उहाँले ३१ औं पटक सगरमाथाको आरोहण गर्नुभएको थियो ।
शेर्पाले पहिलो पटक सन् १९९४ मा सगरमाथाको आरोहण गर्नुभएको थियो ।
त्यस्तै, माउन्टेन क्वीन उपनामले परिचित लाक्पा शेर्पाले आज बिहान साढे ९ बजे ११ औं पटक सगरमाथाको आरोहण गर्नुभएको छ । उहाँले महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्नेको विश्वकीर्तिमान कायम गर्नुभएको हो ।




