काठमाडौंः निजामती कर्मचारीलाई सरकारले १५ दिनमै तलब दिन थालेको छ । पाइलट परियोजनाको रुपमा उक्त कार्य हिजोदेखि कार्यन्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ ।
हिजो बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले १५ दिनमै कर्मचारीलाई तलब दिने कार्यको शुरु गरेका हुन् ।
महालेखा नियन्त्रक कार्यालयको कर्मचारीहरूलाई तलब प्रविष्ट गर्ने प्रणाली कम्प्युटरराइज्ड गभरमेन्ट एकाउन्टिङ सिस्टम (सिगास) मार्फत कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाई अर्थमन्त्री वाग्लेले १५ दिनमै तलब दिने कार्यको सुरुआत गरेका हुन् । अर्थमन्त्रीको सो आदेशसँगै अर्थ मन्त्रालयका कर्मचारीहरूले वैशाख महिनाको पहिलो अर्धमासिक (१५ दिन)को तलब प्राप्त गरेका छन् ।
१५ दिनमा तलब दिँदा सेवा व्यवसायमा सकारात्मक प्रभाव पर्ने र डिजिटल अर्थतन्त्र वृद्धि हुने तथा अर्थ क्षेत्र चलायमान हुने अपेक्षा गरिएको छ ।
यही वैशाख ४ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी कर्मचारीलाई हरेक १५ दिनमा तलब खुवाउने कार्य पाइलट परियोजनाका रुपमा अघि बढाउने निर्णय गरेका थिए ।
आगामी महिनादेखि देशभरका सबै सरकारी कर्मचारीले १५ दिनको फरकमा तलब पाउने जनाइएको छ ।




