विराटचोकः चैत ६ गते एकै दिन मोरङको सुन्दरहरैंचा नगरपालिका र उर्लाबारी नगरपालिकामा देखा परेको बर्ड फ्लु हालसम्म देशका ५ जिल्लाका २३ स्थानमा पुष्टि भएको छ । मोरङका ७ स्थानमा पुष्टि भएको छ भने सबैभन्दा धेरै सुनसरी जिल्लाका १२ स्थानमा पुष्टि भएको छ ।
पशु सेवा विभागका अनुसार तीन सातामा देशका २३ ठाउँमा बर्डफ्लु देखिँदा आधाभन्दा बढी अर्थात् १२ ठाउँमा सुनसरीमा मात्रै पुष्टि भएको छ । चैत अगाडि यस वर्ष बर्डफ्लु देखिएको थिएन । विभागका अनुसार सुनसरीमा १२ स्थान, मोरङमा ७ स्थान, झापामा दुई स्थान, चितवनमा एक स्थान र काठमाडौँमा एक स्थानमा बर्डफ्लु पुष्टि भएको छ ।
विभागले बर्डफ्लु देखिएको स्थानलाई नियन्त्रणमा लिई संक्रमण फैलिन नदिन सो क्षेत्रका कुखुरा तथा कुखुराजन्य सबै पदार्थ नष्ट गर्दछ । हालसम्म १ लाख ४ हजार कुखुरा, परेवार र हाँस नष्ट गरिएको छ । काठमाडौँको त्रिभुवन विश्वविद्यालय परिसरका कागमा पनि बर्डफ्लु देखिएको थियो । विभागले सुनसरी, झापा र मोरङमा पंक्षी ओसारपसारमा प्रतिबन्ध नै लगाएको छ ।



