काठमाडौंः प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई उनीहरुको निवासबाट आज बिहान पक्राउ गरेको छ ।
गत भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै सरकारले उनीहरुलाई पक्राउ गरेको हो । लेखक भक्तपुरको कुटुन्जेस्थित निवासबाट र ओली भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका हुन् ।
नेपालको इतिहासमा मुलुकको कार्यकारी प्रमुख ज्यान मुद्दामा पक्राउ परेको यो पहिलो घटना हो । यसअघि कतिपय अवस्थामा राजनीतिक प्रकृतिका घटना र प्रदर्शनमा पूर्व प्रधानमन्त्रीहरु प्रहरी नियन्त्रणमा रहे पनि फौजदारी जाहेरीको अनुसन्धानका सिलसिलामा पक्राउ परेका थिएनन् ।
जेनजी आन्दोलनको घटनाको बारेमा बुझ्न गठित जाँचबुझ आयोगको प्रतिवेदनमा पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वप्रहरी महानिरिक्षक चन्द्रकुवेर खापुङ लगायतमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १८२ को कसुर गरेको आरोप छ । सो दफामा ‘हेलचक्र्याईं गरी ज्यान मार्न नहुने’ भन्ने व्यवस्था छ ।
नवनियुक्त प्रधानमन्त्री बालेन शाहले शपथ लिएको केही घण्टाभित्रै बसेको मन्त्रिपरिषद बैठकले सुरक्षाकर्मीहरु बाहेकका हकमा गौरीबहादुर कार्की नेतृत्वको आयोगले पेश गरेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदको निर्णय प्रमाणीकरण नहुदै गृहमन्त्री सुधन गुरुङले भदौ २३ को घटनामाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका थिए । त्यसपछि आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णय कार्यान्वयन र त्यसपछिको पत्राचारका कागजात तयार गर्न कानून सचिव पारश्वर ढुंगाना रातभर खटिएका थिए ।
पक्राउ गर्नुअघि जिल्ला अदालतबाट पक्राउ अनुमति नलिएको हुनाले जरुरी पूर्जीका आधारमा पक्राउ गरिएको बताइएको छ ।
ओलीले आफूलाई पक्राउ गर्न प्रहरी आएपछि कानुनविद्सँग सल्लाह गरेर मात्रै गिरफ्तारी दिएका थिए । कानुनविद्सँगको सल्लाहपछि ओलीले आफूलाई प्रतिशोधपूर्ण रुपमा पक्राउ गरिएको हुनाले कानुनी लडाइँ लड्ने बताएका छन् ।





