सुर्खेतः वादी समुदाय नेपालको पछाडि पारिएको समुदाय हो । सो समुदायको प्रतिनिधित्व गर्दै पहिलो पटक सरकार सञ्चालनमा पुगेकी छिन् सीता वादी । सुर्खेतको झुप्रा खोलाको बगरमा बालुवा चालेर जीविकोपार्जन गर्ने वादी समुदायकी उनी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छिन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेकी २९ वर्षीया सीता वादी दलित महिला समूहबाट सांसद बनेकी थिइन् । २०५२ सालमा वीरेन्द्रनगर–११ को अस्थायी बस्तीमा जन्मिएकी उनी छुवाछूत र सामाजिक बहिष्कारको तीतो अनुभवबीच हुर्किएकी थिइन् ।
उनले बाल्यकालमा गरिबी र अभाव सामना गर्नुपर्यो । भूमिहीन वादी समुदायमा शिक्षाको अभाव छ । जसका कारण १२ वर्षको उमेरमा मात्रै एक सामाजिक संस्थाको सहयोगमा उनले विद्यालय टेक्ने अवसर पाएकी थिइन् । उनले राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेकी छिन् ।
पत्रकारिता र सामाजिक कार्यमा सक्रिय रहँदै उनी रास्वपाको राजनीतिमा जोडिएकी थिइन् ।





