पोखराः नयाँ मन्त्रिमण्डलमा पर्यटकीय नगरी पोखराका लेखक गनेश पौडेल बालेन शाह नेतृत्वको मन्त्रीमण्डलमा पर्यटन तथा संस्कृति मन्त्री बनेका छन् । उनले २०७९ सालको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिए पनि पराजित भएका थिए ।
स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी दिँदा उनले सार्वजनिक सम्पत्ति, फेवाताल संरक्षण र सिंगो पोखराको विकासमा पुराना दलले काम गरेको चित्त नबुझेपछि आफूले उम्मेद्वारी दिएको बताएका थिए । त्यतिखेर उनले शिक्षा सुधारको विषयलाई पनि प्रमुखताका साथ उठाएका थिए ।
काठमाडौं महानगरका मेयर उम्मेद्वार बालेन शाहले पाएको लौरो नै उनको पनि चुनाव चिह्न थियो । उनले ३ हजार ३० मत ल्याएका थिए । चुनावपछि काठमाडौंका मेयर बनेका बालेन शाहलाई उनले नजिकबाट सहयोग गरेका थिए । बालेन राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँग गनेश पनि रास्वपा प्रवेश गरेका थिए ।
यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कास्की–१ को प्रत्यक्ष चुनाव जितेका पौडेल पोखराको मझेरीपाटनका बासिन्दा हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन् ।
उनका ‘पैताला’ र ‘मुसा मानुस’ दुई कृति प्रकाशित छन् । ‘पैताला’ उनको मौलिक उपन्यास हो भने ‘मुसा मानुस’ अमेरिकी लेखक जोन स्टेनबेकको कृति ‘अफ माइक एन्ड मेन’ को अनुवाद हो ।





