विराटचोकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य सोविता गौतम कानुनमन्त्री बनेकी छिन् ।
चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लडेर भरतपुर महानगरकी पूर्वमेयर रेनु दाहालाई हराएकी गौतमले २०७९ सालमा पहिलो पटक काठमाडौं २ बाट उम्मेद्वार भएर पूर्वसभामुख ओनसरी घर्तीलाई पराजित गरेकी थिइन् ।
राजनीतिमा आउनुअघि उनी नेपाल टेलिभिजनमा ‘स्वास्थ्य सरोकार’ नामक स्वास्थ्यसम्बन्धी कार्यक्रम चलाउँथिन् । गौतम कानुनकी विद्यार्थी हुन् । उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेसनल कलेजबाट बिए एलएलबी गरेकी छिन् ।
अघिल्लो संसदमा सोबिताले संसदको कानुन, न्याय र मानवअधिकार समिति सदस्य भएर काम गरेकी थिइन् । नेपालबाट इन्टर पार्लियामेन्टरी युनियन सदस्य बनेकी उनी स्वास्थ्य समिति सदस्यमा निर्वाचित भएकी थिइन् । उक्त युनियनमा स्वास्थ्य र समावेशी नीति निर्माणमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।





