तनहुँः तनहुँ–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य स्वर्णिमा वाग्ले अर्थमन्त्री नियुक्त भएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उपभापति पनि हुन् । वाग्लेले अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यवारिधी गरेका छन् ।
वाग्लेसँग राष्ट्र संघीय विकास कार्यक्रम (युनडिपी) को एशिया प्रशान्त क्षेत्रको प्रमुख आर्थिक सल्लाहकारका रूपमा काम गरेको अनुभव छ । उनले सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइआइडिएस), विश्व बैंक र काठमाडौं विश्वविद्यालयमा पनि आबद्ध भएर काम गरेका थिए । वाग्ले देशको आर्थिक नीति योजना कार्यक्रम र वैचारिक विमर्शहरूमा सक्रिय रहँदै आएका छन् ।
२०७२ सालको महाभूकम्पपछि पुनर्निर्माणका लागि क्षति आँकलन गर्ने र अन्तर्राष्ट्रिय सहयोग जुटाउने काममा उनले भूमिका खेलेका थिए ।
उनले लन्डन स्कुल अफ इकोनोमिक्स, हार्वर्ड विश्वविद्यालय र अस्ट्रेलियन नेसनल विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गरेका छन् । सन् २०२२ मा उनले क्याम्ब्रिज युनिभर्सिटीको ‘द ग्रेट अपहिभेल’ को सह–सम्पादकका रूपमा काम गरेका थिए । वाग्लेले नेपालमा अर्थतन्त्र सुधारको क्षेत्रमा वकालत गर्दै आएका छन् ।
निर्वाचनअघि नै वाग्लेलाई रास्वपा सभापति रवि लामिछानेले भावी अर्थमन्त्रीका रूपमा प्रचार गरेका थिए । उनले बजेट लेख्न तयारी गर्न निर्देशन दिएका थिए ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीमा सक्रिय हुनुअघि नेपाली कांग्रेसमा आबद्ध थिए ।





