विराटचोकः नेपालको ४३ औँ प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ३६ वर्षको उमेरमा प्रधानमन्त्री बनेका छन् । उनी प्रधानमन्त्री बनेसँगै उनको नाममा केही कीर्तिमानी बनेका छन् । जुन यसप्रकार छन् ।
बहुदलीय व्यवस्थाका कान्छो प्रधानमन्त्री
हालसम्मको इतिहास हेर्दा ५० वर्षभन्दा माथिका नेता प्रधानमन्त्री भइरहेको नेपालमा बालेन शाह ३६ वर्षकै उमेरमा प्रधानमन्त्री भएका छन् । बहुदलीय शासन प्रणालीपछि जन्मिएका व्यक्तिमध्ये पहिलो प्रधानमन्त्री हुने सौभाग्य शाहले पाएका छन् । हालसम्म देशले बहुदलीय व्यवस्थामा जन्मिएका व्यक्ति प्रधानमन्त्रीको रुपमा देख्न पाएको थिएन ।
जेनजी आन्दोलन नभएको भए ७४ वर्षका ओलीपछि ७९ वर्षीय देउवा प्रधानमन्त्रीको लाइनमा थिए । जेनजी आन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्री भएकी ७३ वर्षीय सुशीला कार्कीपछि कार्कीको आधा उमेर अर्थात् ३६ वर्षीय बालेन प्रधानमन्त्री भएका हुन् ।
यसअघि पञ्चायतकालमा जंगबहादुर राणा र पञ्चायतकालमा तुलसी गिरीले कम उमेरमा प्रधानमन्त्री बनेर कीर्तिमानी बनाएका थिए । कम उमेरमा प्रधानमन्त्री बन्ने त्यो कीर्तिमानी भने तोडिएको छैन ।
निर्वाचनमा सर्वाधिक मत ल्याउने प्रधानमन्त्री
गत निर्वाचनमा बालेन्द्र शाहले झापा क्षेत्र नम्बर ५ मा निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले पराजित गरे । बालेनले ६८ हजार ३४८ मत पाउँदा ओलीले जम्मा १८ हजार ७३४ मत पाए । नेपालको संसदीय निर्वाचनमा बालेनले पाएको मत हालसम्मको कीर्तिमानी मत हो ।
मधेसी समुदायबाट पहिलो प्रधानमन्त्री
बालेन शाह मधेसी समुदायबाट नेपालको प्रधानमन्त्री हुने पहिलो व्यक्ति भएका छन् । नेपालको इतिहासमा अहिलेसम्म मधेशी समुदायका व्यक्ति प्रधानमन्त्री हुन सकेका थिएनन् ।
राजनीतिमा लागेको छोटो समयमै प्रधानमन्त्री
र्याप गीत गाउने गायकका रुपमा परिचित इन्जिनियर बालेन ०७९ को स्थानीय निर्वाचनदेखि राजनीतिमा होमिएका थिए । स्वतन्त्र उम्मेद्वारी दिएर काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि उनको लोकप्रियता बढेको थियो । नचिनेका मानिसले पनि चिनेका थिए ।
अमेरिकाको टाइम म्यागाजिनले संसारका सर्वाधिक सय नेताको सूचीमा बालेनलाई राखेपछि उनी झन् चर्चित भए । स्वतन्त्र उम्मेद्वारी दिएर निर्वाचित भएर राजनीति गरिरहेका बालेनले २०८२ माघ ४ गते मेयर पदबाट राजीनामा । माघ ५ गते राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भए अनि माघ ६ गते झापा क्षेत्र नम्बर ५ मा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उम्मेद्वारी दिएर भारी मतले विजयी भए ।
यसरी गैरदलीय राजनीति गरेको लगभग ४ वर्ष र दलीय राजनीति शुरु गरेको अढाइ महिना नपुग्दै बालेन देशको कार्यकारी प्रमुख प्रधानमन्त्री पदको पदभार ग्रहण गर्न पुगे ।
यति छोटो अवधिमा कुनै पनि नेता प्रधानमन्त्री बन्न सकेका छैनन् । त्यो कीर्तिमानी पनि बालेनको नाममा लेखिएको छ ।
बालेनअघि प्रधानमन्त्री बनेकी सुशीला कार्कीले पहिलो महिला प्रधानमन्त्रीको कीर्तिमान बनाएकी थिइन् ।
कार्कीपछि प्रधानमन्त्री बनेका बालेनले थप केही कीर्तिमान बनाएका छन् ।





