विराटचोकः चालु आर्थिक वर्ष २०८२ को फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरूले सङ्कलन गर्ने कुल बीमा शुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.७३ प्रतिशतले वृद्धि भएको छ ।
गत वर्ष फागुनसम्म १० अर्ब ८७ करोड ११ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन भएकोमा यस वर्ष सोही अवधिमा बढेर १२ अर्ब ४७ करोड २५ लाख रुपैयाँ पुगेको छ ।
बीमा शुल्क सङ्कलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो अग्रता कायमै राखेको छ । कम्पनीले यस अवधिमा ३ अर्ब २९ करोड ७५ लाख रुपैयाँ सङ्कलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.१७ प्रतिशतले बढी हो ।
दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब ५० करोड र तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले १ अर्ब ३४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
प्रतिशतका आधारमा सबैभन्दा धेरै वृद्धि राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको ९५.१९ प्रतिशत छ । गत वर्ष ४४ करोड ७९ लाख रुपैयाँ सङ्कलन गरेको यस कम्पनीले यस वर्ष फागुनसम्म ८७ करोड ४३ लाख रुपैयाँ सङ्कलन गरेको छ ।





