विराटचोकः फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनबाट प्रत्यक्ष तथा समानुपातिक गरी रास्वपाबाट १८२ जना सांसद निर्वाचित भएका छन् । तीमध्ये रास्वपाबाट केही स्वास्थ्यकर्मी सदनमा पुगेका छन् ।
डा. लेखजंग थापा, डा. तोसिमा कार्की, जनस्वास्थ्यविज्ञ आनन्दबहादुर चन्द, दृष्टिरोग विशेषज्ञ दीपककुमार साह, डा. शम्भुकुमार यादव र स्वास्थ्य स्वयंसेविका आशा झा सांसद भएका हुन् ।
डा. लेखजंग थापा वरिष्ठ न्युरोलोजिष्ट हुन् । थापाले एमडी (आन्तरिक चिकित्सा) र डीएम (न्युरोलोजी) अध्ययन पूरा गरेका छन् । राष्ट्रिय न्युरो केन्द्र काठमाडौंमा न्युरोलोजी विभागका निर्देशक तथा प्रमुखको रूपमा कार्यरत थापा मनमोहन मेमोरियल मेडिकल कलेजका वरिष्ठ न्युरोलोजिस्ट, नेपाल स्ट्रोक संघका संस्थापक तथा अध्यक्ष र विश्वस्तरीय न्युरोलोजी तथा स्ट्रोक नेटवर्कहरूसँग आबद्ध छन् ।
त्यस्तै, स्वास्थ्य राज्यमन्त्री बनिसकेकी डा. तोसिमा कार्कीले पुनः ललितपुर–३ बाट सांसद भएकी छिन् । ललितपुरकै नक्खुमा हुर्के–बढेकी कार्कीले किष्ट मेडिकल कलेजबाट एमबीबीएस र काठमाडौं विश्वविद्यालयबाट एमएस (शल्य–चिकित्सामा स्नातकोत्तर) गरेकी छिन् ।
उनले नेपाल मेडिकल काउन्सिलमा कार्यकारी सदस्यको जिम्मेवारी पूरा गरिसकेकी छन् । राजनीतिमा आउनु अघि उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापन पेशामा थिइन् । सार्वजनिक जीवनमा उनी सत्याग्रही डा. गोविन्द केसीको प्रतिबद्ध समर्थक र सहयोगी पनि थिइन् ।
जनस्वास्थ्यविज्ञ आनन्दबहादुर चन्दले कैलाली–५ बाट पहिलोपटक संसदीय राजनीतिको बाटो तय गरे । चन्दले त्रिभुवन विश्वविद्यालय पाटन बहुमुखी क्याम्पसमा १७ वर्ष उपप्राध्यापकका रूपमा काम गरेका छन् । जैविक रसायनशास्त्रमा स्नातकोत्तर र अमेरिकाको नर्थ क्यारोलिना ए एन्ड टी स्टेट युनिभर्सिटीसँग सहकार्यमा पीएचडी पूरा गरेका उनी शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा प्रख्यात छन् ।
सूर्तिजन्य पदार्थ नियन्त्रण र नसर्ने रोगविरुद्धको अभियानका अग्रणी अभियन्ता चन्दले जनस्वास्थ्यमा असर गर्ने सूर्ति तथा चुरोट खपत कम गराउने दिशामा लामो समयदेखि अभियान सञ्चालन गर्दै आएका छन् ।
डा. शम्भु यादव सिरहा– ३ बाट निर्वाचित भएका छन् । केही समय काठमाडौंका निजी अस्पतालमा काम गरेका यादव आफ्नै गृहजिल्ला फर्केका थिए । यादवले सिरहाको मिर्चैया नगरपालिका–७ मा रहेको मिर्चैया हेल्थ पोलिक्लिनिकमा मार्फत सेवा दिँदै आएका थिए । उनले भारतबाट एमबीबीएस अध्ययन पूरा गरेका हुन् ।
डा. दीपककुमार साह रास्वपाबाट सांसद बनेका छन् । महोत्तरीका साहले जनस्वास्थ्य विषयमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेका छन् । उनले विश्वकै प्रतिष्ठित शिक्षण संस्था लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन र इन्स्टिच्युट अफ मेडिसिनबाट शिक्षा हासिल गरेका छन् । उनी दृष्टिरोग विशेषज्ञ हुन् ।
मोरङ ५ बाट प्रत्यक्ष निर्वाचन जितेकी आशा झा पनि स्वास्थ्यकर्मी हुन् । १६ वर्षसम्म स्वास्थ्य स्वयंसेविकाका रूपमा गाउँ–टोलका बिरामी, गर्भवती आमा र आधारभूत स्वास्थ्य सेवाबाट वञ्चितलाई समुदायमा रहेर काम गरेकी आशा झा विराटनगर–१३ की स्थायी बासिन्दा हुन् ।
मध्यमवर्गीय परिवारमा हुर्किएकी उनले जनस्वास्थ्यमा स्नातक गरेकी छन् । विराटनगर महानगरपालिकामा १६ वर्षभन्दा बढी स्वास्थ्य स्वयंसेविकाका रूपमा उनी कार्यरत थिइन् ।
रास्वपाको समानुपातिक सूचीबाट डाक्टरद्वय अंकिता ठाकुर र ओजस्वी शेरचनले प्रतिनिधिसभाको यात्रा तय गरेका छन् । डा. अंकिता दन्त चिकित्सक हुन् । उनले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (यूसीएमएस) भैरहवाबाट दन्त चिकित्सा (बीडीएस) गरेकी छिन् ।
अध्ययन पूरा गरेपछि दन्त चिकित्सकका रूपमा काम सुरु गरेकी अंकिता ललितपुरको नोभा डेन्टल एन्ड एस्थेटिक क्लिनिककी प्रमुख कार्यकारी अधिकृत हुन् । भैरहवामा पढ्दाको समय उनले स्थानीय टेलिभिजन र एफएममा उद्घोषकका रूपमा समेत काम गरिन् । रक्तदान कार्यक्रम, सरसफाइ अभियान, वातावरण संरक्षण र विभिन्न सामाजिक गतिविधिमा पनि अंकिता निरन्तर सक्रिय रहेकी थिइन् ।
नेपाल मेडिकल कलेज अत्तरखेलबाट एमबीबीएस सकेकी डा. ओजस्वीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सन् २०१४ मा बायोकेमेस्ट्रीमा विशेषज्ञता हासिल गरेकी थिइन् । ओजस्वी मेडिकल कलेजको बायोकेमेस्ट्री विषयकी एसोसिएट प्रोफेसर हुन् । समाजसेवामा पनि सक्रिय उनी ‘मिसेस नेपाल कल्चर २०२३’ विजेतासमेत हुन् ।
५ जना नर्स समानुपातिक सांसद
रास्वपाबाट समानुपातिकतर्फ पाँच नर्स सांसद बनेका छन् । समानुपातिक सांसद प्रभा ढकाल कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा अप्रेसन थिएटर नर्सका रूपमा काम गर्छिन् ।
नर्स खिमा विक, निशा मेहता, कामिनी चौधरी र समिना मियाँ पनि समानुपातिकतर्फबाट सांसद बनेका छन् ।
यसरी हेर्दा धेरै सांसद संसदमा पठाएको रास्वपामा स्वास्थ्यकर्मीको पनि राम्रो उपस्थिति रहेको छ ।





