हलेसीः खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले निर्माण गर्न लागेको आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नगरप्रमुख विमला राईले नियन्त्रणमा लिनुभएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान (हलेसी)मा निर्माणाधीन आधारधूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी नमूना–हिमालयन जेभी विराटनगरका ठेकेदार रमेश बस्नेतको बागमती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नगरपालिकाले नियन्त्रणमा लिएको हो ।
आवश्यक निर्माण सामग्री तथा जनशक्तिको व्यवस्थापन गरेर ठेक्का बमोजिमको काम शुरु नभएसम्म गाडी, गाडीको चाबी र सवारीसाधन दर्ता प्रमाणपत्र नियन्त्रणमा लिएको नगर प्रमुख विमला राईले बताउनुभयो । २०८० सालमै बनिसक्नुपर्ने १५ शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम हालसम्म अलपत्र छ ।
नगरप्रमुख राईका अनुसार काममा निरन्तरता नदेखिएको तथा पटक–पटक लिखित एवम् मौखिक जानकारी गराउँदा पनि प्रगति नभएपछि नगरपालिकाले गाडी कब्जामा लिएको हो । गाडी नियन्त्रणमा लिएको विषयमा जिल्ला प्रशासन कार्यालयलाई पनि लिखित जानकारी पठाइसकिएको छ । नगर प्रमुख राईले चैत ८ गते चालकलाई आफ्नो कार्यकक्षमा बोलाएर गाडीको चाबी नियन्त्रणमा लिई प्रहरीलाई बोलाउनुभएको थियो ।
अस्पताल भवन निर्माणको काममा सुरुबाटै ढिलासुस्ती गर्ने निर्माण कम्पनीका ठेकेदारलाई नगरपालिकाले यही चैत १२ गतेदेखि पुनः सुरु गराउने लिखित प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएको छ । चैत १२ गतेदेखि सुरु गरेर ४५ दिनभित्र कम्तीमा बेसमेन्ट कभर स्ल्याब ढलान सक्ने, ६० दिनभित्र फस्र्ट फ्लोर स्ल्याब तथा अर्को ६० दिनभित्र सेकेन्ड फ्लोर स्ल्याब ढलानको काम सम्पन्न गर्ने प्रतिबद्धता गराइएको नगर प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो ।
प्रतिबद्धता अनुसार काम नगरे नियमानुसार कारबाही भोग्ने तथा कतै उजुरबाजुर नगर्ने कागजमा हस्ताक्षर गराइएको गिरीले जानकारी दिनुभयो ।
ठेकेदारलाई पटक–पटक फोन गर्दा नउठाएपछि नगर प्रमुख राईले हिउँदे नगरसभामार्फत ‘ब्ल्याक लिष्ट’मा राख्ने जानकारी गराएपछि निर्माण कम्पनी नमूना–हिमालयन जेभी विराटनगरका ठेकेदार बस्नेत नगरपालिकाको सम्पर्कमा आएका थिए ।
नमूना–हिमालयन जेभीले २०८० साउन ८ गतेसम्ममा काम सम्पन्न गर्नेगरी २०७८ साउन ८ गते अस्पताल भवन बनाउने ठेक्का सम्झौता गरेको थियो । तर सम्झौता म्याद नाघेको दुई वर्ष बितिसक्दा पनि अस्पतालको भवन जगभन्दा माथि उठ्न सकेको छैन ।
भवन निर्माण योजना सुरु गरेपछि ठेकेदार कम्पनीले सम्बन्धित निकायबाट चार करोड ११ लाख २८ हजार ५८ भुक्तानी लिएका थिए । भुक्तानी लिएपछि भवन निर्माणको काम अलपत्र पारेर ठेकेदार कम्पनी सम्पर्कविहीन भएका थिए ।
भूगोलका कारण डिजाइन परिवर्तन गर्नुपर्ने अवस्था आएको तर उक्त डिजाइन मन्त्रालयले स्वीकृति गर्न ढिलाइ गरेकाले अस्पताल भवन अलपत्र परेको ठेकेदार कम्पनीले बताउँदै आएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निर्धारण गरेको कार्यक्रमअनुसार २०७७ मङ्सिरमा खोटाङका चार स्थानीय तहमा १५ शय्याका अस्पताल शिलान्यास गरिएको थियो ।
हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुंगा र ऐसेलुखर्क गाउँपालिकामा मङ्सिर १५ गते तथा केपिलासगढीमा मङ्सिर २३ गते शिलान्यास गरिएको थियो । साकेला गाउँपालिकामा निर्माण गरिने अस्पताल बिना शिलान्यास काम शुरु गरिएको थियो ।
साकेला गाउँपालिकामा सञ्चालित कुनै पनि योजना औपचारिक शिलान्यास तथा उद्घाटन नगर्ने तत्कालीन गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काको प्रतिबद्धताअनुसार बिना शिलान्यास काम शुरु गरिएको थियो ।





