विराटचोकः सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ को बडहरामा रहेका दुई वटा कुखुरा फार्ममा रहेका तथा आसपासका गरी ९ हजार ६२० वटा कुखुरा, हाँस तथा परेवा नष्ट गरेर (मारेर) व्यवस्थापन गरिएको (गाडिएको) छ । ती पंक्षीबाट उत्पादन भएका अण्डा पनि नष्ट गर्नुका साथै मल (सुली) व्यवस्थापन गरी खोरको निर्मलीकरण गरिएको छ ।
सुन्दरहरैंचा–४ का किसान नारायण वाग्लेले सञ्चालन गर्नुभएको हलेसी महादेव कृषि फर्मका ६ हजार १२० लेयर्स कुखुरा नष्ट गरिएको हो । त्यस्तै सुन्दरहरैंचा–४ कै बुढीगंगा कृषि फार्मका ३ हजार ३०० लेयर्स कुखुराका साथै ती फार्म आसपासका स्थानीयले पालेका २०० हाँस, कुखुरा, परेवालगायतका पंक्षी नष्ट गरिएको हो ।
नगरपालिकाका अनुसार फार्ममा पालिएका लेयर्स कुखुराहरु बिरामी भई मरेपछि गरिएको परीक्षणमा संक्रामक बर्ड फ्लु (एच फाइभ एन वान) पुष्टि भएको थियो । संक्रमण फैलावटको जोखिम उच्च रहेपछि बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रमा बर्ड फ्लु नियमावली २०७८ बमोजिम नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयानुसार आकस्मिक रोग अन्वेषण टोलीले सिफारिश गरेबमोजिम चार किल्ला क्षेत्रलाई बर्ड फ्लु रोग प्रभावित क्षेत्र घोषणा गरी पंक्षी र पंक्षीजन्य वस्तु नष्ट गरिएको नगरपालिकाले जनाएको छ ।
सो कार्यमा नगरपालिका र ४ नं. वडा कार्यालय सहित पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङ, पशु क्वारेन्टाइन कार्यालय रानी, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय, कोशी प्रदेश तथा कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशको सहकार्य रहेको थियो । ती सबै कार्यालयको समन्वय र सहयोगमा प्रभावित क्षेत्रभित्रका कुखुरा नष्ट (कुलिङ) गर्ने तथा कुखुराजन्य पदार्थहरु व्यवस्थापन (खाल्डो खनी पुर्ने) गर्ने कार्य भएको थियो । अब खोर सरसफाइको काम सम्पन्न हुने क्रममा रहेको र अन्य काम सकिएको नगरपालिकाले सूचना जारी गरी जानकारी दिएको छ ।
रोगको थप संक्रमण फैलन नदिन तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्न नगरपालिकाले प्रभावित क्षेत्रबाट कुखुरा तथा कुखुराजन्य पदार्थ (अण्डा, मासु, दाना, उपकरण आदि) को ओसारपसारमा रोक लगाएको छ ।
कुखुरा असामान्य बिरामी देखिएमा वा अचानक मृत्यु भएमा तुरुन्तै नजिकको पशु सेवा निकायमा जानकारी गराउन र कुखुरा फार्ममा अनावश्यक व्यक्तिको प्रवेशमा रोक लगाउने तथा प्रवेश र निष्कासन बिन्दुमा अनिवार्य रूपमा डिसइन्फेक्टेन्टको प्रयोग गर्न पनि पालिकाले अनुरोध गरेको छ ।
नगरपालिकाद्वारा जारी सूचनामा मृत वा बिरामी कुखुरा नछुन तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन र सम्बन्धित निकायबाट जारी गरिएका निर्देशन तथा मापदण्डहरू अनिवार्य रूपमा पालना गर्न अनुरोध गरिएको छ ।
कुखुरा तथा कुखुराजन्य उत्पादनको उपभोग गर्दा राम्रोसँग पकाएर मात्र उपभोग गरी रोगको संक्रमण नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले अनुरोध गरेको छ ।





