इटहरीः आइतबार इटहरीमा आयोजित ‘कोशी मिडिया समिट’ १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । कोशी प्रदेशका पत्रकार, सञ्चार उद्यमीलगायतको सहभागितामा नयन एडभरटाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित प्रदेश खबर डटकमको आयोजनामा सम्मेलन भएको हो ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सहकार्य तथा नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा सम्पन्न सोही सम्मलेनले १४ बुँदे घोषणापत्र जारी गरेको हो ।
सम्मेलनमा सहभागी सञ्चारकर्मी तथा मिडिया सञ्चालकले राखेका जिज्ञासामाथि प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य, विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईं र नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले जवाफसहित छलफलमा सहभागिता जनाएका थिए ।
त्यस्तै, राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा र गोरखापत्र संस्थानका अध्यक्ष अखण्ड भण्डारीले सम्बन्धित संस्थाका विषयमा जानकारी गराउँदै पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा धारणा राखेका थिए ।
कार्यक्रममा पत्रकार आचारसंहिता, लोककल्याणकारी विज्ञापन, अन्य विज्ञापन, पत्रकारहरूको पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा सहभागिता, नियुक्तिपत्र, पत्रकारका लागि वित्तीय विकासका कार्यक्रम, मिडिया सञ्चालनका विविध पक्षलगायत विषयमा जिज्ञासा राखेका थिए ।
सम्मेलनमा उपस्थित सञ्चारकर्मीहहरू शालिग्राम पाण्डे, सुविद गुरागाईं, विदुर खवास, सुमन पुरी, सञ्जीव वाग्ले, मीनकुमार नवोदित, बन्धु पोखरेल, राजन केडी, भोजराज श्रेष्ठ, विक्रम लुइँटेल, खेमचन्द्र अधिकारीलगायतले जिज्ञासा राखेका थिए ।
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती तथा नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष सन्तोष श्रेष्ठले अतिथि वक्ताका रूपमा पत्रकारिता क्षेत्रमा देखिएका चुनौतीबारे आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले कोशी प्रदेश केन्द्रित कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले स्वागत मन्तव्य राखेका थिए ।
१४ बुँदे घोषणापत्र जारी
पत्रकारिता क्षेत्रसँग आबद्ध विभिन्न पेशागत संघ–संगठनको सहभागितामा जारी घोषणापत्रमा विभिन्न मागहरू समेटिएका छन् ।
नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको अवस्थामा संघीय, प्रदेश र स्थानीय सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने अनुकूल वातावरण बनाउन सम्मेलनले माग गरेको छ ।
सम्मेलनमा टिपोट लेखन तथा घोषणापत्र तयार पार्न नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अमर खड्काको संयोजकत्वमा हिमाल दाहाल र शिशिर भट्टराई सदस्य रहेको समिति गठन गरिएको थियो ।





