विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ मा रहेका दुई वटा कुखुरा फार्मका कुखुरामा बर्ड फ्लु पुष्टि भएको छ । पुष्टि भएका कुखुरा फार्मका साथै फार्म आसपासका स्थानीयले पालेका कुखुरा, हाँस, परेवालगायतका पंक्षी आज नष्ट गरिने भएको छ ।
सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ बडहरामा रहेको हलेसी महादेव कृषि फार्मका ६ हजार १२० वटा कुखुरामा बर्ड फ्लु पुष्टि भएको हो । फागुन २७ गते २ वटा कुखुरा मरेको त्यसपछि २९ गते ३० गते र चैत १ गते फर्मभित्रको एउटा भागका कुखुरा मरेको फर्म सञ्चालक नारायणप्रसाद वाग्लेले बताउनुभयो ।
फर्मभित्र ८ वटा सेक्टर विभाजन गरेर पालिएका लेयर्स कुखुरामध्ये एउटा सेक्टरका कुखुरा मरेपछि गरिएको नमूना परीक्षणमा बर्ड फ्लु भएको पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएसँगै सुन्दरहरैँचा नगरपालिकाले सूचना जारी गर्दै वडा नं. ४ बाट अन्यत्र कुखुरा तथा अण्डा ओसारपसारमा पूर्ण रूपमा रोक लगाएको छ । संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीद्वारा जारी सूचनामा अर्को सूचना नभएसम्मका लागि प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा, मासु, दाना तथा फार्ममा प्रयोग हुने उपकरणसमेत ओसारपसार गर्न पूर्ण रूपमा रोक लगाइएको उल्लेख गरिएको छ ।
जिल्ला भेटेनरी कार्यालयको समन्वयमा आज राति ती फर्मका साथै फर्मको आसपासका पंक्षी नष्ट गरिने भएको छ ।
फर्म सञ्चालक वाग्लेका अनुसार उहाँको फर्ममा अण्डा दिइरहेका ६ हजार १२० कुखुरा रहेका छन् । एउटा कुखुराको हालसम्मको लागत १ हजार रुपैयाँ हाराहारीमा रहेकाले आफूलाई ६० लाख रुपैयाँ नोक्सानी भएको सञ्चालक वाग्लेले बताउनुभयो ।





