हलेसीः खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हावाहुरी पीडितहरुलाई राहतस्वरुप जस्तापाता वितरण गर्ने भएको छ ।
चैत २ गते आएको हावाले घरको छानामा पूर्ण रुपमा क्षति पुर्याएका परिवारलाई जस्ता पाता प्रदान गर्ने तयारी नगरपालिकाले गरेको हो । सो हावाहुरीले ५२ घरको छानामा पूर्ण रुपमा क्षति पुर्याएको नगरपालिकाको तथ्याङ्क छ ।
हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका १२, वडा नम्बर –२ डिकुवाका ४, वडा नम्बर–३ च्यास्मीटारका २८, वडा नम्बर–८ धितुङका ३ र वडा नम्बर–११ राजापानीका ५ घर परिवारलाई जस्ता प्रदान गरिने मेयर बिमला राईले जानकारी दिनुभएको हो ।
विपद् व्यवस्थापन कोषबाट जस्ता खरिद गरेर पीडितलाई प्रदान गर्ने नगरको योजना रहेको र थप राहत रकम चैत ९ गतेको हिउँदे सभामार्फत बजेट संशोधन गरेर जुटाइने मेयर राईले बताउनुभयो ।
हावाहुरी पीडितलाई घरको साइज अनुसार जस्ता प्रदान गर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले ३१ परिवारलाई त्रिपाल बाँडेको छ ।
विपन्न तीन परिवारलाई नगरपालिकाले ढुंगामाटोको घर निर्माण गर्न सहयोग गर्ने पनि मेयर राईले बताउनुभयो ।
सो हावाहुरीले ७ वटा विद्यालयको जस्तापाता उडाएको नगरपालिकाले जनाएको छ ।





