विराटचोकः राहदानी विभागले राहदानी वितरण एक देखि तीन सातासम्म बन्द हुन सक्ने जनाएको छ ।
विभागले सूचना जारी गरी नयाँ प्रणालीमार्फत् राहदानी जारी गर्दा राहदानी वितरण केही समय अवरूद्ध हुन सक्ने जानकारी गराएको हो ।
अहिले राहदानी पुस्तिका लगायतका आवश्यक तयारी गरिसकेको र एक–दुई महिना भित्रमा हालको प्रणालीबाट नयाँ प्रणालीमा बदली हुने बताउँदै विभागले उक्त अन्तरिम व्यवस्थामा प्रणाली स्थिर नभएसम्म राहदानी वितरण अवरूद्ध हुने जनाएको हो ।
विभागका अनुसार जिल्ला तथा इलाका प्रशासन र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुन सक्नेछ । राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा एक हप्तासम्म बन्द हुन सक्नेछ ।
सो अन्तरिम अवधिमा जिल्ला तथा इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भएर जारी हुन अहिलेको भन्दा बढी समय लाग्न विभागले जानकारी दिएको छ ।
असोजभित्र राहदानी आवश्यक पर्न सक्ने सेवाग्राहीले अन्तरिम अवस्था सुरू हुनु अघि नै सम्बन्धित जिल्ला तथा इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिन विभागले सूचनामा आग्रह गरेको छ ।
नयाँ प्रणाली शुरु हुने मिति तथा उक्त अवधिमा गरिने व्यवस्थाका सम्बन्धमा अर्को सूचना मार्फत् जानकारी गराइने विभागले जनाएको छ ।





