विराटचोकः जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
जसका कारण आज गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरू तथा बागमती प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा अहिले मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागलगायत बाँकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराईलगायत कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति हिमाली भू–भागका अधिकांश स्थानमा बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली भू–भागका थोरै स्थानहरूमा तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।




