Friday, March 13, 2026
Homeराजनीतिचुनावमा मोरङ ६ मा कांग्रेस नेता डा. शेखर कोइरालाद्वारा २२ लाख ३१...

चुनावमा मोरङ ६ मा कांग्रेस नेता डा. शेखर कोइरालाद्वारा २२ लाख ३१ हजार खर्च

विराटचोकः फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङ जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ६ बाट उम्मेद्वार बनेका डा. शेखर कोइरालाले चुनावमा २२ लाख ३१ हजार ८८ रुपैयाँ खर्च गरेको विवरण निर्वाचन आयोगमा बुझाउनुभएको छ ।

निर्वाचन प्रयोजनका लागि आफूले विराटनगरस्थित एनआईसी एसिया बैंकमा खाता खोलेर सम्पूर्ण आर्थिक कारोबार गरेको आयोगमा बुझाइएको खर्च विवरणमा उल्लेख गरिएको छ ।

आज प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय मोरङमार्फत् प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम उक्त खर्च विवरण कोइरालाले बुझाउनुभएको हो । कोइरालाका निर्वाचन प्रतिनिधि विकास थापाले हस्ताक्षर गरी बुझाएको खर्च विवरणमा सबैभन्दा धेरै रकम प्रचारप्रसार सामग्री छपाइमा खर्च भएको देखाइएको छ ।

विवरणमा उल्लेख भएअनुसार मतदाता नामावली, नमूना मतपत्र, पर्चा, पम्प्लेट, स्थानीय घोषणापत्र, झण्डा र फ्लेक्सलगायतका सामग्री छपाउनका लागि १६ लाख ४६ हजार ६०९ रुपैयाँ खर्च भएको छ ।

इन्धनमा १ लाख १६ हजार ३१९ रुपैयाँ, प्रचारप्रसारका लागि १ लाख १३ हजार रुपैयाँ र स्टेशनरी (कलम, स्टेपलर, फाइल, फोटोकपी पेपर, प्रिन्टर, रिफिलिङलगायत) खरिदमा १ लाख ४ हजार ५०० रुपैयाँ खर्च भएको छ ।

चुनावको समयमा खाजा र खानामा ९६ हजार ६६० रुपैयाँ, पार्टी, भातृ एवं शुभेच्छुक संस्था परिचालन गर्न यातायाततर्फ ७९ हजार रुपैयाँ, प्रचार कार्यालय सञ्चालनका लागि टेन्ट भाडामा ४० हजार रुपैयाँ र आवश्यकताअनुसारको मसलन्दका लागि ३५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

 

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments