धरानः मंगलबार राति सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरी राखिएका ६ वटा बसमा आगलागी भएको छ । आगलागीबाट तीनवटा बस पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अन्य तीनवटामा आंशिक क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार को.१ ख ६२७४, प्रदेश १–०१–००१ ख ४०३७ र बा.४ ख ५७५९ नम्बरका यात्रुवाहक बसहरू पूर्ण रूपमा जलेका छन् । यस्तै, को.१ ख ३८४७, बा.५ ख ५८१४ र बा.५ ख ५८०९ नम्बरका बसमा आंशिक क्षति पुगेको छ ।
प्रहरीले आगलागीको कारणबारे अनुसन्धान शुरु गरेको जनाएको छ । विद्युतीय वायरिङ सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । घटनास्थलको सीसीटीभी फुटेज जाँच गर्दा कुनै व्यक्तिको शंकास्पद संलग्नता नदेखिएको प्रहरीले जनाएको छ ।
सीसीटीभी फुटेजअनुसार धरान–विराटनगर रुटमा चल्ने को.१ ख ६२७४ नम्बरको बसको इन्जिन बोनेटबाट आगो शुरु भएको देखिएको छ । सोही बसबाट सल्केको आगोले नजिकै रहेका अन्य गाडीहरूमा पनि क्षति पु¥याएको हो । सो बसमा केही समय पहिले पनि गुडिरहेकै अवस्थामा आगो लागेको बताइएको छ ।
राति ९ बजेतिर आएको गाडी ग्यारेजमा पार्क गरेर चालक र सहचालकहरू निस्किएपछि आगलागी शुरु भएको बताइएको छ ।







