विराटचोकः भोलि साताैँ ‘राष्ट्रिय भक्का दिवस’ विशेष गरी पूर्वी तराईका जिल्लामा मनाइँदैछ । कोच राजवंशी समुदायले पुस २९ गतेलाई भक्का दिवसका रूपमा मनाउँदै आएका छन् । कोचिला गाभुर फ्रन्टको आयोजनामा २०७४ सालदेखि हरेक वर्ष पुस २९ गते सांस्कृतिक कार्यक्रमसहित ‘राष्ट्रिय भक्का दिवस’ मनाउन थालिएको हो ।
कोच राजवंशी समुदायले विशेष परिकारको रुपमा चिसो मौसममा खाने प्रमुख परिकार भक्का पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिले पनि रुचाएका छन् । पूर्वी तराईमा भक्कालाई स्वस्थ र सुलभ खाजाको रुपमा लिइन्छ ।
राजवंशी जातिमा मात्र सीमित रहेको भक्का खाने चलन पछिल्लो समय सबै जातजातिबीच लोकप्रिय बनेको छ । चामलको पिठोलाई पानीको बाफमा पकाएर भक्का बनाउने गरिन्छ । स्थानीय गोलभेंडा र धनियाँ पिसेर बनाइएको अचारसँग भक्का खानेको संख्या जाडोको समयमा तराईका चोकचोकमा उल्लेख्य पाइन्छ ।