सुन्दरहरैंचाः शनिबार मेन्छ्याम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले सहकारी ऐन र सिद्धान्त अनुसार संस्थालाई ठीक ढङ्गबाट अघि बढाउन शेयर सदस्यको प्रमुख भूमिका रहने बताए ।
साधारणसभामा आर्थिक वर्ष २०७९÷०८० को प्रगति विवरण एवम् २०८०÷०८१ का लागि प्रस्तावित वार्षिक कार्ययोजना प्रस्तुत गरिएको थियो । साधारणसभामा कार्यसमितिको तर्फबाट अध्यक्षको प्रतिवेदन कार्यवाहक अध्यक्ष रूपेश श्रेष्ठले प्रस्तुत गरेका थिए ।
साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट कारोबार गर्ने ८ जनालाई सम्मान गरेको छ । यस्तै मासिक बचतकर्ता र ११ बाल बचतकर्तालाई पनि सम्मान गरेको छ । ज्येष्ठ सदस्यतर्फ सीताराम नेपाललाई सम्मान गरेको छ । असल ऋणी र उत्कृष्ट कर्मचारीलाई पनि पुरस्कृत गरेको छ ।
कोषाध्यक्ष कुमार गुरूङले संस्थाको वित्तीय प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा समितिका संयोजक नरबहादुर राईले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सचिव सीता राईले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन टेकराज तिम्सिनाले गरेका थिए ।
सहकारीले सुन्दरहरैँचा, बेलबारी, केराबारी लगायत पालिकामा सदस्य विस्तार गरेर काम गर्दै आएको छ । अहिले संस्थामा १ हजार १ सय ९९ शेयर सदस्य रहेका छन् । २०६९ सालमा कृषि सहकारीको रूपमा दर्ता भएको सो सहकारी २०७८ सालदेखि बचत तथा ऋण सहकारीमा परिवर्तन भएको थियो ।