विराटनगरः मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कर्मचारी खटाइसकिएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार सबै स्थानमा आवश्यक निर्वाचन सामग्री ढुवानी भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङका अनुसार मोरङमा ३०६ मतदानस्थल र ८८८ मतदान केन्द्र रहेका छन् । सबै मतदानस्थल र केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेका छन् ।
निर्वाचनका लागि आवश्यक मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट वितरण गरिएको छ भने अन्य ५२ प्रकारका सामग्री निर्वाचन अधिकृतको कार्यालयमार्फत् मतदान अधिकृतलाई हस्तान्तरण गरिएको छ । ती सबै सामग्री सम्बन्धित मतदानस्थल र केन्द्रमा पुर्याइसकिएको कार्यालयले जनाएको छ ।
मोरङमा ८८८ जना मतदान अधिकृत, ८८८ जना सहायक मतदान अधिकृतसहित ५,३४६ जना कर्मचारी परिचालित छन् । प्रत्येक निर्वाचन क्षेत्रमा २–२ जनाका दरले सहसचिव तथा उपसचिव स्तरका कर्मचारीको नेतृत्वमा घुम्ती टोलीसमेत परिचालन गरिएको जनाइएको छ ।
जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा गरी १२ सदस्यीय घुम्ती टोली सक्रिय रहेको छ । ११० जना उम्मेदवार प्रतिस्पर्धामा रहेको मोरङमा ७ लाख ८३ हजार ५० जना मतदाता रहेका छन् ।
मतदान केन्द्रमा पुगेका कर्मचारीले आज सर्वपक्षीय बैठक राख्नेलगायतका काम गर्न शुरु गरेका छन् ।







