विराटचोकः निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ ।
मतदानका दिनमा अत्यावश्यक सेवा (एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारी साधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका निम्ति प्रयोग हुने), कूटनीतिक नियोगका र पास प्राप्त गरेका बाहेकका अरू सार्वजनिक तथा निजी सवारी साधन फागुन २० राति १२ बजेदेखि २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालन गर्न नपाइने भएको हो ।
मतदानको मितिभन्दा सात दिन अघिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादकपदार्थ बिक्री वितरण तथा सेवन गर्न मुलुकभर प्रतिबन्ध लगाउन गृह मन्त्रालयलाई पत्र पठाउने निर्णय गरिएको पनि आयोगले जनाएको छ ।







