उर्लाबारीः फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ का उम्मेद्वार खड्ग फागो यतिबेला गाउँ–गाउँमा सक्रिय रूपमा घरदैलो अभियानमा जुट्नुभएको छ ।
फागोले बुधबार मिक्लाजुङ गाउँपालिका वडा नम्बर १, ४ र ५ का विभिन्न टोल–बस्तीमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गर्नुभएको छ । घरदैलो कार्यक्रममार्फत नागरिकका दैनिक जीवनसँग जोडिएका समस्या, अपेक्षा र सुझावहरू उहाँले ध्यानपूर्वक सुन्नुभएको थियो ।
भेटघाटका क्रममा स्थानीयवासीले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको पहुँच अझै कमजोर रहेको, सडक पूर्वाधार अभावका कारण दैनिक जीवन कष्टकर बनेको तथा युवाहरू रोजगारीको खोजीमा विदेशिन बाध्य भएको गुनासो गरेका थिए ।
कृषि उत्पादनको उचित बजारीकरण नभएको, सिँचाइ सुविधा विस्तार र आधुनिक प्रविधिको आवश्यकता रहेको उनीहरुको भनाइ थियो । महिला समूहहरूले स्वरोजगार कार्यक्रम, सीपमूलक तालिम र स्वास्थ्य सेवाको सहज पहुँच विस्तार गर्न माग गरे भने युवाहरूले खेलकुद पूर्वाधार, रोजगारी सिर्जना र प्राविधिक शिक्षामा लगानी बढाउनुपर्ने सुझाव दिएका थिए ।
मतदाताका कुरा ध्यानपूर्वक सुन्दै फागोले जनताको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर योजनाबद्ध विकास कार्यक्रम अघि बढाउने प्रतिबद्धता गर्दै विकासलाई नारामा सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्ने आफ्नो लक्ष्य रहेको बताएका थिए ।







