बेलबारीः सर्जक नवराज पोखरेल ‘नवशिला’ को तेस्रो कृति ‘सिलसिला’ (मुक्तक सङ्ग्रह) को मोरङको बेलबारीमा लोकार्पण गरिएको छ ।
कोसी साहित्य–कला परिषद् नेपालको आयोजनामा बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा बिहीबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडा, कार्यक्रमका सभाध्यक्ष कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, कवि तथा समालोचक डा. दीपकप्रसाद न्यौपाने, बेलबारीका अग्रज स्रष्टा, हर्कमान तामाङ, लेखक नवशिला तथा उहाँका पिता लक्ष्मीप्रसाद पोखरेल र माता दुर्गादेवी पोखरेलले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको हो ।
लोकार्पित कृतिको समीक्षा डा. दीपकप्रसाद न्यौपानेले गर्नुभएको थियो । न्यौपानेले ‘नवशिला’ को ‘सिलसिला’ भित्रका मुक्तकले विविध विषयलाई सुन्दर ढङ्गले प्रस्तुत गरेको बताउनुभयो ।
कार्यक्रममा युवा कवि सिजन श्रेष्ठले लेखकको जीवनी तथा व्यक्तित्वको संक्षिप्त परिचय प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा असम नेपाली साहित्य सभा बीटीआर क्षेत्रीय समितिकी सचिव एवम् सिक्किमेली लघुकथा समाजकी एडमिन इन्दिरा गौतम, विराट साहित्य सङ्गम विराटनगरका अध्यक्ष मधु पोखरेल, हाम्रो लघुकथा नेपालकी एडमिन इन्दिरा चापागाईँलगायतको शुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रममा डा. नरेन्द्र चापागाईँ साहित्य प्रतिष्ठानका अध्यक्ष अग्रज स्रष्टा सरला चापागाईँ, नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल, लेटाङ साहित्य कला सङ्गमका निवर्तमान अध्यक्ष डिल्लीराम ओझा, विराट मैथिल नाट्य कला परिषद् विराटनगरका अध्यक्ष डोमी कामत, नोबेल साहित्य साकोसका उपाध्यक्ष भुपाल अधिकारीलगायतको उपस्थिति थियो ।
परिषद्की साहित्य विभाग सहसंयोजक शारदा दाहालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम परिषद्का अध्यक्ष केशु विरहीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन परिषद्का कोषाध्यक्ष चिरञ्जीवी काफ्लेले गर्नुभएको थियो ।
कार्यक्रममा बाबुराम पोखरेल, नीकिशारानी पोखरेल, एकराज भट्टराई, मन्दिरा चापागाईँ, सुन्दर भट्ट, भुपाल अधिकारी, शिव पराजुली, नानुमाया दाहाललगायतका स्रष्टाले लोकार्पित कृतिभित्रका रचना वाचन गरेका थिए ।







