Tuesday, October 13, 2026
Homeकला र साहित्य७२ वर्षीया कमला पराजुलीको ‘ॐ शान्ति’ कविता कृति लोकार्पित

७२ वर्षीया कमला पराजुलीको ‘ॐ शान्ति’ कविता कृति लोकार्पित

विराटचोकः मोरङको विराटचोकस्थित ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्रमा कमला पराजुलीद्वारा लिखित ‘ॐ शान्ति’ कविता कृति लोकार्पण गरिएको छ ।

ब्रह्माकुमारी कविता पोखरेलको अध्यक्षता तथा साहित्यकार छवि वैरागी घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ७२ वर्षीया पराजुलीको कविता कृति विमोचन भएको हो ।

आफ्ना अनुभव, आध्यात्मिक चिन्तन र अनुभूतिलाई कवितामार्फत् प्रस्तुत गर्ने क्रममा कृति तयार भएको कृतिकार पराजुलीले बताउनुभयो ।

विभिन्न कार्यक्रम तथा ध्यान केन्द्रमा कविता सुनाउँदै आएकी पराजुलीले ती रचनालाई पुस्तकको रुपमा प्रकाशन गर्नुभएको हो ।

कार्यक्रममा कोसी साहित्य कला परिषद्का अध्यक्ष साहित्यकार केशु विरहीले ‘ॐ शान्ति’ कविता सङ्ग्रहलाई ज्ञान बाँड्ने पुण्य कार्यको संज्ञा दिँदै यसले साहित्यिक यात्रामा लाग्न चाहनेलाई प्रेरणा दिने बताउनुभयो । पुस्तकले सुख हामीभित्रै रहेको सन्देश दिएको उल्लेख गर्दै उहाँले लेखकको आगामी साहित्यिक यात्राको सफलताको कामना व्यक्त गर्नुभएको थियो ।

सुन्दरहरैंचा कला साहित्य विकास समितिका अध्यक्ष डा. दीपकप्रसाद न्यौपानेले सिर्जनामा सौन्दर्य हुने उल्लेख गर्दै कविता सङ्ग्रहले शान्ति कहाँ पाइन्छ भन्ने प्रश्नको खोजी गरेको बताउनुभयो । आगामी संस्करणमा भाषिक परिष्कारसहित कृतिलाई थप विशिष्ट बनाउनुपर्ने उहाँको सुझाव थियो ।

बेलबारी कला साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले वर्तमान समयमा मानिसभित्र बढ्दै गएको अशान्ति र द्वन्द्व न्यूनीकरण गर्न आध्यात्मिक चिन्तन आवश्यक रहेको बताउनुभयो । उहाँले कृतिकार पराजुलीले आध्यात्मिक गहिराइमा पुगेर कविता सिर्जना गरेको बताउनुभयो ।

कृतिकार पराजुलीले आफूले केही वर्षअघि नै कविता लेख्न शुरु गरेको र ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको आध्यात्मिक कार्यक्रममा सुनाउने गरेको बताउनुभयो । रचना सुनाउँदा स्रोताले दिनुभएको हौसलाले आफूलाई लेख्न थप प्रेरणा मिलेको उहाँको भनाइ थियो ।

आफूलाई आध्यात्मिक चर्चा र चिन्तनका क्रममा बढी ऊर्जा र शक्ति अनुभूति हुने गरेको उल्लेख गर्दै उहाँले आफ्नै अनुभव र मनमा आएका भावलाई शब्दमा उतारेको बताउनुभयो ।

प्रमुख अतिथि साहित्यकार छवि वैरागी घिमिरेले कविता साधनाबाट निस्कने कोमल सिर्जना भएको हुनाले कविले जहाँ पनि र जेमा पनि कविता भेट्न सक्नु साधना भएको बताउनुभयो ।

कार्यक्रमको सञ्चालन कोशी साहित्य कला परिषद्का सचिव नवराज पोखरेल ‘नवशिला’ले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments