काठमाडौंः जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा आज पनि कर्फ्यु आदेश जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले शनिबार साँझ नयाँ सूचना निकालेर आइतबार पनि कर्फ्यु आदेशलाई निरन्तरता दिनुभएको हो ।
सूचनाअनुसार हिजो दिउँसो १ बजेदेखि लागू भएको कर्फ्यु आज बिहान साढे ६ बजेसम्म निरन्तर रहनेछ । त्यसपछि अत्यावश्यक कामका लागि बिहान साढे ६ बजेपछि साढे ८ बजेसम्म कर्फ्यु खुकुलो पारिएको छ । सो अवधिमा पनि कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने प्रशासनले स्पष्ट गरेको छ ।
फेरि बिहान साढे ८ बजेदेखि नै अर्को आदेश जारी नभएसम्म पुनः कर्फ्यु लागू रहने सूचनामा उल्लेख छ ।







