काठमाडौंः धार्मिक सहिष्णुता र सम्मान कायम राख्न गृह मन्त्रालयले अपिल गरेको छ । तराई–मधेसका केही जिल्लामा पछिल्लो समय देखिएका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै गृहले यस्तो अपिल गरेको हो ।
मन्त्रालयकी सहप्रवक्ता रमा आचार्य (सुवेदी) द्वारा जारी विज्ञप्तिमा सबै पक्षलाई संयमता अपनाउन, कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नगर्न–नगराउन तथा सबै धर्म र समुदायबीच पारस्परिक सम्मान र सहिष्णुता कायम राख्न सादर अनुरोध गरिएको छ ।
आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै देशको विद्यमान सुरक्षा अवस्थाबारे समीक्षा गरिएको थियो । मन्त्रालयका अनुसार रौतहट, दाङ लगायतका क्षेत्रमा धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा असर पर्ने गतिविधि, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी र तोडफोड, राजनीतिक दलका झण्डा जलाउने जस्ता कानूनविपरीत कार्य भएका छन् । यस्ता गतिविधिले सामाजिक मर्यादा र आपसी विश्वासमा आँच पु¥याएको ठहर गरिएको छ ।
मन्त्रालयले यस्ता गतिविधिमाथि सुक्ष्म निगरानी गरिरहेको र संलग्न जो–कोहीलाई कानूनी दायरामा ल्याई कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।
हिजोदेखि रौतहटमा दुई समुदायबीच झडप हुँदै आएको छ । स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्र्यू आदेश समेत जारी गरेको छ ।







