Thursday, February 19, 2026
Homeसमाचारलेटाङ, बेलबारी र उर्लाबारीमा भूसेवा केन्द्र सञ्चालन हुँदै

लेटाङ, बेलबारी र उर्लाबारीमा भूसेवा केन्द्र सञ्चालन हुँदै

 बेलबारीः मालपोत कार्यालयको सेवा पालिकाबाटै प्रदान गर्ने उद्देश्यका साथ लेटाङ, बेलबारी र उर्लाबारी नगरपालिकामा ‘भू–सेवा केन्द्र’ सञ्चालन गरिने भएको छ ।

लेटाङ, बेलबारी र उर्लाबारी नगरपालिकामा ‘भू–सेवा केन्द्र’ सञ्चालन गर्ने विषयमा सोमबार बेलबारी नगरपालिकामा विशेष कार्यक्रम गरी तीन वटै पालिका र मालपोत कार्यालय बेलबारीबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
लेटाङ नगरपालिकाका नगर प्रमखु भुपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, बेलबारी नगरपालिकाका नगर प्रमुख डीपी राई र उपप्रमुख नितु थापाको उपस्थितिमा मालपोत कार्यालय बेलबारीका निमित्त प्रमुख किरणकुमार केसी र सम्बन्धित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले समझदारी पत्रमा हस्ताक्षर गरी एकअर्कामा समझदारी पत्र आदनप्रदान गर्नुभएको थियो ।

स्थानीय तहबाट मालपोत सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा कित्ताकाट हुने बाहेकका ससिम जग्गाहरुको नामसारी, रोक्का लगायतका सेवा प्रदान गरिने जनाइएको छ ।

मालपोत कार्यालय बेलबारीका निमित्त प्रमुख किरणकुमार केसीका अनुसार पहिलो चरणमा ससिम प्रकृतिका जग्गाहरुको राजीनामा पास, बकसपास, सट्टापट्टा, नामसारी, फुकुवा लगायत सेवा प्रदान गरिनेछ ।

मुलुकी देवानीको २३९ क र ख अनुसार पतिपत्नी, छोराछोरी र बिधवा बुहारीको नाममा जाने जग्गाहरु नामसारी गरिने उहाँले जानकारी दिनुभयो ।

पालिकाबाट प्रक्रिया शुरु गरेपछि अनलाइनबाटै मालपोत कार्यालयमा विवरण पठाइने र मालपोत कार्यालयबाट जग्गा रोक्का हेर्ने, मोठ भिडाउने, राजस्व लिने, पास गरेर स्थानीय तहलाई नै सिस्टमबाट स्क्यान गरेर पठाइने मालपोत कार्यालय बेलबारीका निमित्त प्रमुख केसीले जानकारी दिनुभयो । उहाँका अनुसार सबै प्रक्रिया पूरा गरेपछि जग्गा धनीपूर्जा समेत पालिकाबाटै प्रदान गरिनेछ ।

समझदारी पत्रमा भए अनुसार सेवा प्रदान हुँदा मालपोत कार्यालयको करिव ७० देखि ८० प्रतिशत काम पालिकाबाटै हुने उहाँको भनाइ छ । सुरुमा कित्ताकाट बाहेकका सेवा प्रदान गर्ने तयारी गरिएकोमा भविष्यमा अन्य सेवा पनि थप गर्दै जाने योजना अनुसार समझदारीपत्रमा हस्ताक्षर गरिएको उहाँले जानकारी दिनुभयो ।

अब यी तीनै नगरपालिकाका नागरिकहरूले जग्गाको रोक्का, फुकुवा, नामसारी तथा अन्य मालपोतसम्बन्धी अनलाइन सेवाहरू लिनका लागि मालपोत कार्यालय धाइरहनुपर्ने झन्झट अन्त्य हुने भएको छ । नगरपालिकामै स्थापना हुने ‘भू–सेवा केन्द्र’ मार्फत् अनलाइन प्रणालीबाटै आवश्यक कागजात प्रविष्ट गर्न र प्रक्रिया अगाडि बढाउन सकिनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments