काठमाडौंः गत वर्षभन्दा कम क्षेत्रमा खेती गरिए पनि यस वर्ष धान उत्पादनमा ४ दशमलव ३३ प्रतिशतले वृद्धि भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । गत वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष बढेर ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत वर्षभन्दा ० दशमलव ६१ प्रतिशत अर्थात् ८ हजार ८०० हेक्टर कम क्षेत्रफलमा धानखेती गरिएको थियो । चालु आवमा १४ लाख ३८ हजार ९८९ हेक्टरमा रोपाइँ भएको थियो । कोशीमा सबैभन्दा धेरै धान फलेको छ भने सबैभन्दा कम कर्णालीमा फलेको छ । मन्त्रालयका अनुसार यो वर्ष कोशीमा १४ लाख ३५ हजार ५७८ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष कोशीमा १३ लाख ३६ हजार ५७ मेट्रिक टन धान उत्पादन भएको थियो ।