विराटचोकः देशभरिका ६ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा कमजोर काठमाडौं महानगरपालिका भएको छ । सबैभन्दा धेरै अङ्क ल्याउँदै विराटनगर उत्कृष्ट ठहरिएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचक आधार मानेर गरेको मूल्याङ्कनका आधारमा काठमाडौं महानगरपालिकाले ४४ दशमलव ९७ अङ्कमात्र प्राप्त गर्न सकेको छ ।
मोरङको विराटनगर महानगरपालिकाले ७८ दशमलव ११ अङ्क पाएर पहिलो स्थानमा छ । दोस्रो स्थानमा ललितपुर महानगरपालिका छ । जसले ७६.३३ प्रतिशत अङ्क पाएको छ । तेस्रो स्थानमा चितवनको भरतपुर छ । भरतपुरले ६८.०४ अङ्क पाएको छ ।
चौथो स्थानमा रहेको पोखराले ५८.०४ अङ्क पाएको छ । पाँचौं स्थानमा रहेको वीरगञ्ज महानगरले ५४ अङ्क पाएको छ । काठमाडौं छैटौं स्थानमा छ ।
यस्तो छ नतिजाः
विराटनगरः ७८.११
ललितपुरः ७६.३३
भरतपुरः ६८.०४
पोखराः ५८.७६
वीरगञ्जः ५४
काठमाडौंः ४४.९७
आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्याङ्कन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे\नगरेको, असार मसान्तभित्र बजेट पास गरे\नगरेको उल्लेख छ ।
आर्थिक वर्ष २०८१\८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे\नगरेको समेत मूल्याङ्कनको सूचक मानिएको छ ।
आगामी आवको बजेट प्रक्षेपण सहित विवरण अर्थ मन्त्रालयमा बुझाए\नबुझाएको, बजेट समिक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे\नगरेकोलाई समेत सूचक मानिएको छ ।
राजस्व परिचालन, बजेट खर्च अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षा नतिजा, खोप लगाएका बालबालिकाको अनुपातलाई समेत आयोगले मूल्याङ्कनका आधार मान्ने गरेको छ ।
देशभरि ८० अङ्क कटाउने स्थानीय तह भने ४ वटा मात्र छन् । पाणिनी गाउँपालिका सबै स्थानीय तहमध्ये अब्बल देखिएको छ ।







